


मेचीनगर, १० माघ । नेकपा एमाले झापा क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटी संयोजक रविन कोइरालाले फागुन २१ सुखानीमा रगत बगेको ठाउँ भएकोले यसपटकको चुनावमा झापालाई लालकिल्ला बनाउने उद्घोष गरेका छन् ।
शनिबार धुलाबारीमा एमाले क्षेत्रिय समन्वय कमिटीको वैठकमा नेता कोइरालाले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको चुनावमा शहिदहरुको भूमि झापालाई विगतको लालकिल्ला फर्काउने गरी लाग्न जिल्लाका सबै नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका हुन् ।
संविधान सभा सदस्य, पूर्व केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक समेत रहेका कोइरालाले गाउँमा गएर संसद्मा हात्तीका कुरा उठाए भन्दै छन् अरे हाम्रो पालामा संसद्मा कुरा उठाएर विद्युतीय तारबार समेत जडान गरेको बताए ।
‘७० वर्ष लडेर ल्याएको संविधान अपठेरोमा पर्न लागेको छ’, कोइरालाले भने–‘त्यसलाई जोगाउँनु पर्छ । रास्वपाको रोडम्याप नै छैन । कांग्रेसको उधारीकरणको खाँका कहाँ छ । गणतन्त्र, धर्म निरपेक्ष लगायतका एजेण्डा अरुसँग छैन् । देशलाई समाजवादउन्मुख बनाउन समृद्व नेपाल सुखी नेपालीको रोडम्याप एमालेसँग स्पष्ट रुपमा रहेको छ ।’
कोइरालाको संयोजकत्वमा ५०१ जनाको निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । झापा क्षेत्र नं.१ का उम्मेदवार रामचन्द्र उप्रेतीले चुनावमा प्रतिस्पर्धाको नाममा खर्चिलो र भड्किलो नबनाउन सबै दलहरुलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मनोज ताम्लीको प्रमुख आतिथ्यता रहेको थियो । उनले झापामा सूर्य चिन्हका ध्वाजाबाहक सबै उम्मेदवारहरुलाई जिताउन वडादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता घर–घरमा पुगेर जनतालाई बुझाउन लाग्नु पर्ने बताएका छन् ।
एमाले क्षेत्रिय समन्वय कमिटी अध्यक्ष कृष्ण कनालले स्वागतसहित अध्यक्षता गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पोखरेलले गरेका थिए ।




Discussion about this post