झापा, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन् ।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ । अन्यतर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।
मेचे एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न रोकिएकी पात्र हुन् । एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी, जनजाति महासंघको केन्द्रीय कमिटी सदस्यसमेत रहेकी उनी महासंघबाट प्रतिनिधि बन्न खोज्दा प्राविधिक र वैधानिक कारणले रोकिएको थियो । तर रोशनी अहिले देशको माथिल्लो सदन (राष्ट्रिय सभा) को उम्मेदवार बनेकी हुन् ।
झापा मेचीनगर–१२ (साविक धाइजन–३) मा जन्मिएकी रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी हुन् । गृह जिल्ला र सीमान्तकृत समुदायको भएका कारण अध्यक्ष ओलीले उनलाई सचिवालयमा राखेका थिए । नेपालकै अति सीमान्तकृत मेचे समुदायबाट राष्ट्रिय सभामा पुग्ने उनी सम्भवतः पहिलो व्यक्ति हुन् ।
यसैगरी राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । प्रदेश सभाबाट सूर्यमा ६८, तारामा १८ गरी ८७ मत खसेको थियो । त्यस्तै स्थानीय तहबाट सूर्यमा २०१, तारामा ५७ गरी २५८ मत खसेको थियो ।




Discussion about this post