भद्रपुर, १६ माघ । झापाको भद्रपुरमा जारी ‘झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव प्रहरीले रोकेको छ ।
झापा उद्योग वाणिज्य संघको आयोजनामा माघ ७ गतेदेखि सञ्चालित महोत्सव ६ दिन अगाडि नै प्रहरीले रोकेको हो ।
संघले शुक्रबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव स्थगित गरिएको जानकारी गराएको छ । संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले ‘प्रहरीको ज्यादती’का कारण समय अगावै महोत्सव स्थगित गर्नु परेको बताए । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर महोत्सव सञ्चालन गरिए पनि प्रहरी–प्रशासनकै कारण महोत्सव स्थगित गर्नुपर्ने उनको भनाई छ ।
‘जिल्ला प्रशासन कार्यालय झापाले स्वीकृतिपत्रमा समयको कुनै सीमा तोकेको छैन्’, राईले भने–‘महोत्सवलाई मेलाको दृष्टिकोणबाट मात्र बुझियो । माघ १३ गते संघलाई विभिन्न सर्तसहित बेलुका ७ बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न पत्र पठाएको थियो ।
पत्रको विषयमा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डिराज ढकालसहित जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायीको प्रतिनिधि मण्डललाई माघ १४ गते जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्रसहित न्यूनतम समय बेलुकी १० बजेसम्म सञ्चालन गर्न दिनुपर्ने माग राखेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले बेलुका ९ बजेसम्म मात्र महोत्सव सञ्चालन गर्न निर्देशन दियो ।’
समयको विषयलाई लिएर प्रहरीले साउण्ड सिस्टमको तार तानिदिने, पिङ चढ्दै गरेका सर्वसाधारणलाई झार्ने जस्ता क्रियाकलापका कारण महोत्सवलाई सुरक्षा प्रदान गर्नुपर्ने प्रहरी प्रशासनकै त्रासका महोत्सव सञ्चालन गर्न चुनौती देखापरेकाले महोत्सव स्थगित गरिएको राईले बताए ।
महोत्सव आयोजनाका लागि विभिन्न पक्षबाट १ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको र महोत्सवबाट ठूलो घाटा बेहोर्नु पर्ने अवस्था सिर्जना भएको संघको दावी छ ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले विभिन्न बहानामा महोत्सवलाई नोक्सानी पु¥याउने काम गरिएको बताए । प्रशासनले छलफलको माध्यमबाट समस्याको समाधान गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज), नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टिकाराज ढकाल, नेपाली कम्युनिष्ट पार्टीका नेता डिलीराम घिमिरे (हिक्मत) गलायतले महोत्सवलाई रोक्न नमिल्ने विचार व्यक्त गरेका थिए ।




Discussion about this post