मेचीनगर, १९ माघ । भद्रपुरमा यही माघ २१ गतेदेखि ‘कोशी पाथिभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मेची क्याम्पसको उत्तरपट्टिको मैदानमा भद्रपुर क्रिकेट क्लबले आयोजना गर्न लागेको कोशी पाथिभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीप कप क्रिकेट प्रतियोगिता यही माघ २१ गतेदेखि २९ गतेसम्म हुनेछ ।
भद्रपुर–८ का वडाध्यक्ष एवम् खेल संयोजक गौरव सुब्बा (मनोज) ले नेपाल र भारत गरी ८ वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद, ट्रफी र मेडल रहेको जानकारी दिए ।
भारतका तर्फबाट आसामको राइनो ल्याण्ड क्रिकेट एकाडेमी, लखनउँको ग्लोबल स्टार क्रिकेट क्लब, न्यू दिल्लीको क्रिकेट कोचिङउपाध्याय एकाडेमी र स्नो लाइन टिम अफ सिक्किमको सहभागिता रहने छ ।
यता नेपालको तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, पोखराको गण्डकी हिरोज, काठमाडौंको ग्रेट हिमालयन क्रिकेट एकाडेमी र डडेलधुराको फ्रेण्ड्स युथ क्लब रहने छन् ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद ११ हजार, उत्कृष्ट बलर र व्याटरले २५ हजार, उदीयमान खेलाडीले ११ हजार, म्यान अफ दि सिरिजले ५१ हजार र ट्रफ्री प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव एक करोड २२ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिता सञ्चालन गर्न ओम साई पाथिभरा
अस्पताल, एग्रो थाई फुड्सको उत्पादन एक्सट्रिम एनर्जी ड्रिङ्कस लगायत सामाजिक तथा कमर्सीयल बैंकहरुले पनि सहकार्य गरेका छन् ।
प्रतियोगिताको उद्रघाटन गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की आउने भएका छन् ।
पत्रकार भेटघाटमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, खेल संयोजक सुब्बा, भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुली लगायतले झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगिता आयोजना हुन लागेकोले सबैको साथ र सहयोगको आग्रह गरेका छन् ।
कार्यक्रमको सहजीकरण पत्रकार गोपाल गिरीले गरेका थिए ।




Discussion about this post