मेचीनगर, ११ फागुन । झापा क्षेत्र नं.१ का उम्मेदवार रामचन्द्र उप्रेतीले घरदैलो अभियानका क्रममा जनताले धेरै ठुला कुरा नमागको बताएका छन् ।
घरदैलो अभियानमा व्यस्त नेकपा एमालेबाट उम्मेदवार बनेका उप्रेतीले जनताले मागे भन्दा ठुला र धेरै काम गर्न सकिने बताएका हुन् ।
‘जनताले ठुला कुरा मागेकै छैनन्’, उप्रेतीले भने–‘जनताको जीवनसँग जोडिएका अपरिहार्य वस्तुहरु रहेका छन् । जस्तो कृषकलाई चाहिने अत्यावश्यक मल, विउँ, सिँचाई, कृषिका औजारहरु लगायत छन् । त्यस्तै चिया बगानका मजदुरका ज्याला, हात्तीको समस्या, बाँदर आतंक, जीवजन्तुहरुको आक्रमण, निजी तथा सरकारी कायालर्यका कर्मचारीहरुको सेवासुविधा, बाटो, कुलो, पानी, विजुली, इन्टरनेट लगायतका समस्या जनताले राखेका छन् ।’
सफल उद्यमी एवम् सहकारी अभियन्ता उप्रेतीले जितेर गएपछि इमानदारीपूर्वक काम गर्दा जनताले मागे भन्दा धेरै काम गर्न सकिने दावी गरे । जनताको आर्थिकस्थिति उठाउन एनएमसी मार्फत सामाजिक भूमिका निर्वाह गरिरहेका उनले देश विकासका लागि ठुला ठुला परियोजनाहरु ल्याएर काम गर्नपछि नपर्ने बताए ।
घरदैलो कार्यक्रममा प्रत्यक्षका उम्मेदवार उप्रेतीसँगै समानुपातिककी उम्मेदवार लता प्रसाई, पार्टीका केन्द्रदेखि तल्लो टोल कमिटीका नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर लागेका छन् ।
निर्वाचन आयोगले फागुन ४ गतेदेखि दलहरुलाई प्रचारप्रसार गर्न दिएपछि सबै दलका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनाव आउन अब १० दिन बाँकी हुँदा उम्मेदवारहरु जनतालाई आफ्नो पक्षमा पार्न गाउँ, गाउँमा पुगेर घरदैलो, कोणसभा लगायतका कार्यक्रममा मत मागिरहेका छन् ।




Discussion about this post