
मेचीनगर, ८ चैत । पछिल्लो समय झापामा चितुवाकाे आतंक बढ्न थालेकाे छ ।
केहिदिन अघिदेखि झापाका केही पालिकामा चितुवाले गाउँका किसानले पालेका बाख्रा, खसी, कुखुरा, हाँस लगायत घर पालुवा जन्तुहरूमाथि आक्रमण गरेर खाइदिने गरेकाे छ ।
मेचीनगर नगरपालिका-५ का किसानले पालेका कुखुरा, हाँस, खसी, बाख्रामाथि चितुवा राति आएर आक्रमण गर्ने, मारेर नजिकैकाे चिया बगानमा लगेर खाने गरेकाे छ ।
स्थानीय स्वास्थ्यकर्मी हरि देवकाेटाका अनुसार आइतबार राति साढे ९ वजे घरकाे गाेठमा पालेकाे कुखुराकाे भाले खाइदियाे ।
गाउँका किसानहरूले पालेका कुखुरा, खसी, बाख्रा चितुवाले खाएर सकिसकेकाे उनकाे भनाई छ ।
यसैबीच आजै दिउँसो १ वजे बुद्वशान्ति गाउँपालिका-४ टिमाई स्थित कमल खड्काको मकै बारीमा घाइते अवस्थामा रहेको चितुवाले सशस्त्र प्रहरीसहित ४ जना स्थानीयलाई आक्रमण गर्दा घाइते भएका छन् ।
प्रहरी टोलीले डिभिजन वन कार्यालय झापासँग समन्वय गरी चितुवा नियन्त्रणमा लिन कोशी टप्पु बन्यजन्तु आरक्षण सुनसरीबाट आएकाे विज्ञ टोलीले चितुवालाई नियन्त्रणमा लिन खोज्दा चितुवा रिसाएर घटनास्थलकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सई केदार श्रेष्ठलाई आक्रमण गरेकाे थियाे ।
आक्रमणबाट घाइते श्रेष्ठकाे अनुहार, हात खुट्टा, कान, बायाँ पाँखुरा लगायत शरिरको विभिन्न भागमा चोट लागेकाे थियाे ।
त्यस्तै बुद्वशान्ति-६ का बर्ष ५० का कृष्ण गजमेर, साेही ठाउँका बर्ष ५४ का दुर्गाबहादुर कटुवाल, मेचीनगर नगरपालिका-१० का वडा सदस्य विशाल कार्की समेतलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियाे ।
घाइते सबैकाे अवस्था सामान्य रहेको छ । उनीहरूकाे स्थानीय भागिरथा न्यौपाने अस्पताल बुद्वशान्तिमा उपचार भइरहेको ।
चितुवाले स्थानीयहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयले कुटपिट गर्दा चितुवाको मृत्यु भएकाे छ ।
मृत चितुवा जिल्ला डिभिजन वन कार्यालय झापामा आवश्यक कार्यका लागि लगिएको प्रहरीकाे भनाई छ ।
यसअघि पनि चितुवाले मेचीनगर-१, २, ४ लगायतका वडाहरूमा आतंक मच्चाएकाे थियाे ।




Discussion about this post