
मेचीनगर, १० चैत । खाना पकाउने ग्यासको कृत्रिम अभाव गरी उपभोक्ता ठग्ने र कालोबजारी रोक्न मेचीनगरमा बजार अनुगमन सुरु गरिएको छ ।
मंगलबार मेचीनगर नगरपालिकाको सक्रियतामा मेचीनगर–१२ र १३ स्थित चारआली बजारहरूमा रहेका एलपिजी ग्यास डिलर, पसल र खाद्यका पसलहरूको अवस्थाबारे निरीक्षण गरिएको हो ।
नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीमा खाद्य प्रविधि तथा गूण नियन्त्रण डिभिजन कार्यालय झापाकी खाद्य निरीक्षक संगीता साह, गुणस्तर तथा नाप तौल कार्यालय झापाका प्रतिनिधिहरु हरेराम महतो, आकाश झा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, सदस्य मानबहादुर कटुवाल, चारआली प्रहरी चौकीका प्रमुख कुमार खड्का, वरिष्ठ हवल्दार लालबहादुर निरौला, हवल्दार कल्पना भण्डारी, नगरप्रहरी दीपा राजबंशी, उपभोक्ता जागरण अभियान नेपालका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।
उनीहरुले चारआली बजारका ८ वटा पसलमा अनुगमन गरेको थियो । ग्यास वितरणको अवस्था, मौज्दात र मूल्यका विषयमा स्थलगत जाँच गरेको थियो । त्यस्तै लेवल, स्टीकर, म्याद भए, नभएका खाद्य सामानहरु पनि जाँच गरेको थियो ।
मेचीनगर–१२ को शिखर सप्लायर्स, मेचीनगर–१३ स्थित चारआलीको के एण्ड के मार्ट, उमा–लक्ष्मी पसल, विनोद किराना, उमेश किराना पसल, माला भाडा पसल, मान्द्रो रेष्टुरेन्ट, प्रजिना स्टोर, एनएमसी सहकारी पसल लगायतमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलीले ग्यास सिलिन्डरको परिमाण, तोकिएको तौल भए, नभएको र बिक्री वितरण गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गरिएको छ कि छैन भन्ने विषयमा सुष्म अनुसन्धान गरेको थियो ।
अनुगमन टोलीले ग्यासका डिलर र पसलले व्यवसायीहरुलाई बजारमा कृत्रिम अभाव गरी उपभोक्ता ठग्ने र कालोबजारी गरिएको भेटिए तत्कालै जरिवाना गरिने र आचारसंहिता पालना गर्न अनुरोध गरेका थिए ।
पसलहरुमा कोशी, त्रिशक्ति र मेचीका ग्यासहरु केहि खाली र केहि हाफ भरिएका थिए । ग्यासका व्यवसायीहरुले उपभोक्तालाई मेची नहुँदा त्रिशक्ति र त्रिशक्ति नहुँदा मेचीको ग्यास दिने गरेका रहेछन् । तर, धेरै व्यवसायीले मेची ग्यास समयमा नआउने बताएका छन् । मेची ग्यासका सञ्चालकलाई फोन गर्दा फोन उठेन ।
खाद्य विश्लेषक कार्कीले खाना पकाउने ग्यासको कुनै पनि अभाव नरहेको र अनावश्यक रूपमा स्टक राखेर अभाव देखाउन खोज्नेलाई कडा कारबाही गरिने बताए ।
उपभोक्ताको हित संरक्षणलाई पहिलो प्राथमिकतामा राखि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा महंगोमा बेच्ने जस्ता गैरकानुनी कार्य रोक्न नगरपालिकाको संयुक्त टोलीले अनुगमनलाई निरन्तरता दिने उनको दावी छ ।
पछिल्लो समय मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि नेपालमा खाना पकाउने ग्यास हाफ सिलिण्डरमा मात्र पाउन थालेको छ । अब सवारी साधनमा पनि जोर विजोर लागू गर्ने तयारी समेत भइरहेको छ ।
यसअघि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अनुगमन समिति संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुश प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायत जनप्रतिनिधि र कर्मचारीको छलफलले तत्काल बजार अनुगमन गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता नठग्न, कालोबजारी नगर्न आग्रहसहितको सूचना जारी गरेको थियो । त्यस्तो गरेको पाइए कडा कारवाही गर्ने जनाएको छ ।
(शव्द÷फोटोहरु : अर्जुन कार्की)




Discussion about this post