झापा, १४ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवासबाटै पक्राउ परेका छन् ।
अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए ।
टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र विहान उठ्ने बित्तिकै नियन्त्रणमा लिइएको हो ।
उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरीस्रोतले जनाएको छ ।
ओली आफ्नै गाडीमा प्रहरीसँग गएका छन् । प्रहरी आइजीपीको नक्साल स्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो ।
आदेशानुसार प्रहरी परिचालित भएको थियाे । यसैगरी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर, कटुन्जेस्थित घरमा सुतिरहेका उनलाई प्रहरीले नै विहान उठाएर साथमा लगेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेकाे हाे । पक्राउ परेपछि ओली र लेखकले राजनीति र कानुनी लडाइ लड्ने बताएका छन् ।




Discussion about this post