झापा, २० चैत । किशोरी अमिशा पराजुलीमाथि भइरहेको श्रृंखलावद्ध ‘साइबर बुलिङ’ र मानमर्दनको घटनाप्रति मेचीनगर पुरुष सञ्जालले आपत्ति जनाएको छ ।
शुक्रबार सञ्जालले प्रेस विज्ञप्ति जारी गरेर काठमाडौँमा केही दिनअघि आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भई आफ्ना विचार र धारणा सार्वजनिक गरेकै आधारमा किशोरी अमिशामाथि भइरहेको श्रृंखलावद्ध ‘साइबर बुलिङ’ र मानमर्दनको घटनाप्रति खेद व्यक्त गरेको हो ।
सञ्जाल मेचीनगरका संयोजक मोहन काजीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा ‘यसअघि सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी इनिशा विकको घटनामा समेत सामाजिक सञ्जालमार्फत व्यक्त गरिएका असंवेदनशील र आपत्तिजनक टिप्पणीहरूले हाम्रो समाजको एउटा तप्का अझै पनि लैंगिक संवेदनशीलताप्रति कति उदासीन छ भन्ने प्रष्ट पारेको’ उल्लेख गरिएको छ ।
यी प्रतिनिधि घटनाहरूले नेपाली समाजमा महिला र किशोरीहरूले भोग्नु परिरहेको अनलाइन हिंसाको डरलाग्दो स्वरूपलाई उजागर गरेको र आफ्ना कुरा निर्धक्क राख्न खोज्ने महिलाहरूलाई चरित्र हत्या र मानसिक यातनामार्फत निरुत्साहित गरिनु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको विज्ञप्तिमा उल्लेख छ ।
पुरुष सञ्जालले सामाजिक सञ्जालमार्फत अमिशाको जीउज्यान र अस्मितामाथि लक्षित गरिएका आपराधिक धम्की र हमला सभ्य समाजका लागि असह्य र अस्वीकार्य भएको उल्लेख गर्दै कानूनी राज्यमा यस्ता घटना प्रथम दृष्टिमै दण्डनीय भएको दावी गरेको छ ।
नेपालको संविधानले लिंगका आधारमा विभेद नगरी प्रत्येक नागरिकलाई ‘वाक तथा अभिव्यक्ति स्वतन्त्रता’को प्रत्याभूति गरेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ– ‘अमिशामाथि भएको हमला व्यक्तिको नैसर्गिक मानव अधिकार र स्वतन्त्रतापूर्वक बाँच्न पाउने हकमाथिको ठाडो प्रहार हो । भौतिक हिंसासँगै बढ्दो इन्टरनेट र सामाजिक सञ्जालमार्फत हुने हिंसाले महिला र किशोरीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । डिजिटल माध्यमलाई सुरक्षित र मर्यादित बनाउन राज्यले विशेष पहल गर्नुपर्छ । महिलालाई सधैँ नियन्त्रणमा राख्नुपर्छ भन्ने संकुचित र पितृसत्तात्मक सोच नै यस्ता हिंसाको मुख्य जड हो ।’
‘कुनै पनि व्यक्तिले लिंगका आधारमा डर, त्रास वा हिंसाको सामना नगरी आफ्ना विचार राख्न पाउने वातावरण नै सभ्य समाजको पहिचान हो’,विज्ञप्तिमा भनिएको छ– ‘हाम्रा छोरी, दिदीबहिनी र सम्पूर्ण महिलाहरूको सम्मानजनक अस्तित्व र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारका लागि सञ्जाल सदैव प्रतिबद्ध रहने प्रण गर्दछ ।’




Discussion about this post