चितवान, ७ असार । रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए ।
रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो ।
चितवनको गेष्टहाउस चौरमा घण्टी बज्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भयो । मञ्चमा थिए देशका प्रमुख राजनीतिक दलका नेताहरू ।
नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता अगाडिको पङ्तिमा बसेका थिए ।
आयाेजक पार्टीका प्रमुख दुई नेताहरुकाे प्रतिक्षामा पाहुनाहरुले एक घन्टाभन्दा बढी प्रतिक्षा गर्नु परेकाे थियाे ।
रवि र बालेन एकसाथ कार्यक्रम स्थल प्रवेश गरे ।
बालेनले गगन थापा, सिके राउत लगायतलाई आफैंले घन्टी दिएर बजाउन लगाएकाे राेचक दृष्य देखियाे । गगन थापाहरुले टिनटिन घन्टी बजाइरहँदा कार्यकर्ताले स्वाद माने ।
प्रधानमन्त्री बालेनले आज कार्यक्रम अवधिभरि धैर्यतापूर्वक मञ्चमा बसे । यतिमात्र हाेइन, उनले ‘लामाे’ भाषण पनि गरे । बालेनले आज गरेकाे करिब १० मिनेटकाे भाषण सम्भवत राजनीतिक जीवनकै सबैभन्दा लामाे हुन सक्छ ।
भाषणमा उनले पछिल्लाे समय आफूमाथि उठिरहेका केही प्रश्नकाे जवाफ दिएका छन्, जसका लागि संसदमा प्रतिपक्षीहरुले आवाज उठाइरहेका थिए । उनले पुराना दलहरू, विगतका सरकारहरू र स्थापित राजनीतिक संस्कारमाथि प्रश्न उठाए । सत्ता सञ्चालनको पुरानो शैलीमाथि कटाक्ष गरे । परिवर्तनको आवश्यकता दोहोर्याए ।
बालेनकाे दुर्लभ भाषणमा ताली बजिरह्यो । कार्यकर्ताहरू उत्साहित भइरहे । तर मञ्चको अगाडिको पङ्ति अपेक्षाकृत शान्त थियो । अतिथि नेताहरू मुस्कुराइरहेका थिए ।
उनीहरूका अनुहारमा सहजता र संयम देखिन्थ्यो ।
बालेनपछि माइक सम्हालेका सभापति रवि लामिछानेको स्वर फरक थियो । उनले उपस्थित सबै दलका नेताहरूलाई धन्यवाद दिए ।
राजनीतिक प्रतिस्पर्धा र राजनीतिक शत्रुताबीच फरक हुने बताए । लोकतन्त्रमा संवाद, सहकार्य र सम्मानको संस्कार आवश्यक रहेको उल्लेख गरे ।
शुभकामना दिनेक्रममा दलका प्रतिनिधिहरुले रास्वपालाई लोकतन्त्रका स्थापित मान्यता सम्झाएका थिए । इतिहाससँगै राजनीतिक संस्कार सुझाएका थिए । कांग्रेस सभापति गगन थापाले रास्वपाससँग सहकार्य र खबरदारी दुवै रहने बताउँदा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रियता, परराष्ट्र नीति र लोकतन्त्रप्रति संवेदनशील हुन आग्रह गरे ।
नेकपाका नेता वर्षमान पुनले संविधानको सीमाभित्र रहेर परिवर्तनको राजनीति गर्न सुझाव दिए । सिके राउतले लोकतान्त्रिक रूपान्तरणलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।




Discussion about this post