
बाहुनडाँगी, ८ असार । झापामा लागूऔषधको अवस्था भयावह रहेको छ । खुल्ला सीमानाका कारण भारतबाट लागूऔषधजन्य पदार्थ ल्याउनेको संख्या धेरै छ ।
सेवन गर्ने, ओसार पसार गर्ने, बिक्री गर्ने र कारोवार गर्नेलाई खुल्ला सीमा नाका सहज भएको छ । प्रहरीले जति नै निगरानी, पक्राउ र कडा गरे पनि सम्भव छैन् । घर परिवार, समुदायको सहयोग बिना प्रहरी एक्लैले न्यूनिकरण गर्न सक्दैन ।
तीनै तहको सरकार र भारतको कन्द्रीय सरकारबीच समन्वय र सहकार्य भए नेपाल–भारतका सबै नाकामा निगरानी र नियन्त्रण गर्न सकिने सम्भावना रहेको छ । भर्खरै झापामा ‘लागूऔषध विरुद्धको झापा अभियान’ सुरु गरिएको छ । जिल्लाका करिव १५ हजार युवा–युवती लागूऔषधको कुलतमा फसेको झापा प्रहरीको तथ्याङ्कले पनि पुष्टि गरेको छ ।
प्रहरीले जिल्लाका सबै नाकाबाट लागूऔषधजन्य पदार्थ प्रयोग गर्ने, ओसारपसार गर्ने र कारोवारीहरुलाई दिनहुँ नियन्त्रणमा लिए पनि घट्ने होइन, उल्टै बढिरहेका छन् । ‘लागूऔषध विरुद्धको झापा अभियान’ अन्तरगत विद्यालय, समुदाय र घरपरिवारमा विशेष फोकस रहेको छ । विद्यार्थीले घरमा, विद्यालयमा र साथिभाईसँग के गरिरहेका छन्, यी सबैलाई चासोका साथ हेरिने उदेश्य रहेको छ ।
सोमबार हात्ती रिर्सोटमा लीडरसीप एकेडेमी युवा समूह बाहुनडाँगीको आयोजनामा दुव्र्यसन सम्बन्धी विद्यार्थीलाई अभिमुखिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाई, विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बसुन्धरा खड्का, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, सामाजिक अभियन्ता सोमराज ढकालले विद्यार्थीहरुलाई लागूऔषधको सेवन, ओसारपसार, कारोवार र यसले गर्ने असरका विषयमा प्रशिक्षणसहितको शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रमका लागि सहारा नेपाल बिर्तामोड, वडा कार्यालय र ग्लोबल लर्नीङ ल्यावको सहयोग तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको समन्वय रहेको थियो ।
वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहारा नेपाल बिर्तामोडका सञ्चालक सदस्य ध्यानबहादुर भारतीले र सञ्चालन लीडरसीप एकेडेमी युवा समूह बाहुनडाँगीकी संयोजक प्रतिमा भट्टराईले गरेकी थिइन् ।




Discussion about this post