मेचीनगर, १६ साउन । झापामा सरकार र ग्यास उद्पादन गर्ने उद्योगले ग्यास सिलिन्डर अभाव नभएको बताएका छन् ।
मेची ग्यास उद्योगका सञ्चालक महादेवलाल अग्रवालले मेचीनगरमा ग्यासकाे अभाव नभएको बताएका हुन् ।
बजारमा ग्यास बिक्रेता डिलरहरूले ग्यास अभाव भएको बताएका छन् । उपभोक्ताले डिलरबाट कुपन लिएर करिव एकहप्ता पर्खिनु पर्ने अवस्था छ ।
उद्योगबाट माग बमाेजिमकाे ग्यास नआएको डिलरकाे गुनासाे छ । बजारमा ग्यास सिलिन्डरकाे हाहाकार रहेकाे उपभोक्ताहरूकाे भनाई छ ।
´उद्योगले दैनिक २५ सय भन्दा बढी ग्यास उत्पादन गरिरहेकाे छ`, अग्रवालले भने-´जति उत्पादन हुन्छ बजार पठाउँछाैं । डिलरहरूले मागे बमाेजिम ग्यास सिलिन्डर पठाइरहेका छाैं । अभाव छ जस्ताे लाग्दैन ।`
तर, चारआली, धाइजन, धुलाबारी, ईटाभट्टा, काँकरभिट्टा, बाहुनडाँगी लगायतका उपभोक्ताहरूले ग्यास नपाएर हैरान भएका छन् ।
बजारमा काेशी, त्रिशक्ति, कनकाई, पाथिभरा र मेची ग्यास सिलिन्डर बिक्री वितरण भइरहेकाे छ । मेची बाहेक अन्य ग्यासहरू झापामा कम आइरहेकाे बताइएकाे छ ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लामा ग्यास अभाव नभएको बताए । उनका अनुसार भारतबाट पेट्रोलियम पदार्थ आइरहेकाे छ ।
चारआलीकाे आयल निगमले पनि ग्यास लगायतका पेट्रोलियम पदार्थकाे अभाव नभएको जानकारी गराएकाे सीडीओ गेलालले बताए ।
मेचीनगरसहित जिल्लामा त्यस्ताे अवस्था छ भने स्थानीय सरकारसँग समन्वय गरेर अनुगमन गरिने उनकाे भनाई छ ।
Discussion about this post