मेचीनगर, ३२ साउन । मेचीनगर नगरपालिका–८ स्थित प्रगतिशिल र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा आज विहान एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय सुन्दर किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएका हुन् ।
किसानको घाँटी काटिएको र टाउकोमा चोटै चोट भएको अवस्थामा शव फेला परेको वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमलाले जानकारी दिए ।
‘बुधबार राति ७ वजे नजिकैको पसलबाट घर हिडेका थिए’, वडाध्यक्ष धमलाले भने–‘राति घर नगएपछि विहान मनिङवर्क गर्नेले झाडी फाडिएको देखेपछि शंका लागेर मैले नै प्रहरीलाई खवर गरेको थिए । विहान ५ वजेदेखि खोजेको ११ वजेमात्र किसानको शव फेला परेको थियो ।’
शंकाका आधारमा स्थानीय ३÷४ जना व्यक्तिलाई अनुसन्धानका लागि प्रहरीले लगेको उनले बताए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारतीले घरेलु हतियारको प्रहारबाट शरिरमा चोटपटक लागेको अवस्थामा शव भेटिएकोले स्थानीय केहिलाई अनुसन्धानका लागि ल्याइएको बताए ।
वडाध्यक्षका अनुसार मृतक किसान मदिराका अम्मली पनि थिए । विहान–बेलुका नै थोरै भएपनि मदिरा सेवन गर्थे । उनले हिजो राति ७ बजे मदिरा सेवन गरेर घर लागेको बताइएको छ ।
उनले मजदुरी गरेर परिवार पालिरहेका थिए । गाउँमै ज्याला मजदुरी काम गरेर हिड्थे । बेलाबेला गाउँदेखि मेची खोलासम्म गोरुहरु कटाउने काममा सघाउँथे ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले शव पोष्ट माटमका लागि विपी कोइराला मेमारियल विज्ञान प्रतिष्ठान धरान पठाइएको बताए ।
Discussion about this post