ज्यामिरगढी, ८ भदौ । मेची उद्योग वाणिज्य संघले ज्यामिरगढी माविमा आयोजना गरेको एकदिवसिय निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा ४३२ जनाले सेवा लिएका छन् ।
वाणिज्य संघले आज मेचीनगर–१५ स्थित ज्यामिरगढी मावि परिसरमा निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
आदिवासीहरुको बाहुल्यता रहेको सो विद्यालयमा अध्ययनरत विद्यार्थी र स्थानीय अभिभावकलाई काँकरभिट्टा आई केयर सेन्टरका डाक्टर रोजल थापाको नेतृत्वमा खटिएको टोलीले सेवा प्रदान गरेको थियो ।
शिविर उद्घाटनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु बस्नेत अधिकारीको अध्यक्षता तथा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
शिविरमा शिक्षक अभिभावक संघका अध्यक्ष केपी शिवाकोटी, प्रधानाध्यापक सन्तप्रसाद चौंलागाई, मेची उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु श्याम न्यौपाने, आनन्द खड्का, मानकुमार कटुवाल, कार्यकारी निर्देशक गोपाल बस्नेत, आई केयर सेन्टरका कोअर्डिनेटर लोकनाथ गौतम, स्टोर इन्चार्ज कृष्ण लिम्बू, यज्ञराज खत्री, शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा ५० जनालाई निःशुल्क औषधि, २७ जनालाई चश्मा वितरण गरिएको संघले जनाएको छ । शिविरमा २३ जनामा मोतिया विन्दुका विमारीहरु फेला परेका थिए । ११ हजार मुल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको बताइएको छ ।
उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
Discussion about this post