मेचीनगर, ८ भदौ । उपभोक्ता जागरण अभियान नेपाल मेचीनगर समिति टोलीले नगरपालिका नेतृत्वसँग भेटेर नगरभित्र उपभोक्तको हक र हितका लागि सक्रिय रहेकोे जानकारी दिएको छ ।
यही साउन २५ गते रचना घिमिरेको अध्यक्षतामा उपभोक्ता जागरण अभियानको ९ सदस्यीय नगर समिति गठन गरेको थियो ।
समितिकी अध्यक्ष घिमिरेको नेतृत्वमा अभियानको एक टोलीले मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली र खाद्य अधिकृत दिपेन्द्र कार्कीलाई मेयरको कार्यकक्षमा सामूहिक रुपमा भेटेर संस्थाको उद्देश्य र गतिविधिका बारेमा पष्ट पारिएको छ ।
बजारको स्वच्छता र उपभोक्ताको संरक्षणका लागि नगरपालिकाले चाल्ने हरेक कदममा अभियानले सघाउने संस्थाकी नगर अध्यक्ष घिमिरेले जानकारी दिइन् ।
मेयर बुढाथोकीले उपभोक्ता आफै जागरुक भएर हक र हितका लागि अग्रसर हुनु स्वागतयोग्य भएको बताउँदै अभियानसँग हातेमालो गरेर अघि बढ्न नगरपालिका तयार रहेको बताए ।
उपमेयर उप्रेतीले नगरको अनुगमन समितिमा उपभोक्ता संस्थाको प्रतिनिधिलाई प्रतिनिधित्व गराउने व्यवस्था रहेको बताउँदै अभियानका एक जना प्रतिनिधिलाई समावेश गराइने जानकारी दिइन् ।
संस्था सूचीकरणका लागि नगर अध्यक्ष घिमिरेले संस्थाको विधान र जिल्ला प्रशासन कार्यालय झापाबाट प्राप्त स्वीकृति पत्र नगरपालिकामा विधिवत दर्ता गराएकी छन् ।
सो अवसरमा अभियानका झापा अध्यक्ष मोहन काजी, सचिव विशाल थापा, सदस्य अर्जुन कार्की, माइती नेपालका कोशी प्रदेश संयोजक गोविन्द घिमिरे, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post