भद्रपुर, ६ बैशाख । चर्च ब्वाइज युनाइटेडसामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ ।
ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्वाइज ३-२ गोल अन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हाे ।
खेलको २७ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो । भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा खातुनले नै दोस्रो गोल थपिन् । वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको एक्रोब्याटिक प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।
पहिलो हाफ २-० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४ औँ मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्चकीे गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
भुटानले अर्काे गोल उपहारमार्फत पायो । ५८ औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो ।
७९ औँ मिनेटसम्म चर्चसँग २-२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा खायो ।
मैदानको मध्य भागमा पाएको बललाई वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गरेकी थिइन् ।
उनकै गोलको मद्दतले चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी मरियम खातुन भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।
सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।




Discussion about this post