
ट्याङ्की नजिक समितिका अध्यक्ष बराल र उपाध्यक्ष भट्टराई ।
।। अर्जुन कार्की ।।
बनियानी, २७ पुस । सरकारले झापाको केहि पालिकामा लागू गरेको डिप ट्युबवेल सिँचाइ परियोजना किसानका लागि ‘हात्तीको मुखमा जिरा’ सावित भएको छ ।
झापाका विभिन्न पालिकामा डिप ट्युबवेल सिँचाइ आयोजना सञ्चालनमा आएसँगै कृषक खुशी भएका थिए । तर, सरकारको सिँचाइ योजनाले राहत होइन ढाड सेकाएको छ ।
राज्यले सञ्चालन गरेको झापाका केहि गाउँपालिका तथा नगरपालिका मध्ये कचनकवल गाउँपालिकाको सिँचाइ आयोजना एक हो । किसानको राहतका लागि सरकारले सञ्चालनमा ल्याएको ट्युबवेल सिँचाइ योजनाले विद्युत महशुल महंगो पर्न गएको छ ।
कचनकवल गाउँपालिकाको ७ वटै वडामा यो योजना लागू भइरहेको छ । सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा गाउँमा ट्युबवेल सिँचाइ सञ्चालन भएपछि स्थानीय खुशी देखिन्थे ।
कचनकवल–२ बाङ्गडाँगी स्थित जल उपभोक्ता समितिका अध्यक्ष केशव बराल भन्छन्–‘यहाँका किसानको ६० बिगाहा जग्गामा लगाएको खेती मध्ये ४० विगाहा जग्गा सिँचाइ अभावमा बाँझै छ । अकासे पानीका भरमा खेती गर्नुपर्दा उत्पादन आधा घटेको छ । किसानले सिँचाइ गर्ने डिप ट्युबवेल भने बन्द छ ।
सरकारले साना किसानलाई यो ट्युबवेल अनुदानमा उपलब्ध गराएको थियो । तर, विद्युत प्राधिकरणको महशुल बढी भएपछि ट्युबवेल सञ्चालन बन्द गरिएको अध्यक्ष बरालको दावी छ ।
बाङ्गडाँगीमा मुख्य ट्याङ्कीसहित १७ वटा ट्युबवेल निर्माण गरिएको छ । डिप ट्युबवेल गत असारमा गाडिएको थियो । हाल सो ट्युबवेलहरु बन्द छन् । ट्युबवेल निर्माण गर्न वडा नम्बर २ मा मात्र करिव एक करोड लगानी भएको छ ।
‘सञ्चालनमा आएदेखि सबैले ट्युबवेल प्रयोग गरेका थियौँ । अहिलेसम्म विद्युत महशुल तिरेका छैनौँ ।’ उनी भन्छन्–‘अहिलेसम्म कति विल उठ्यो थाहा छैन । धेरै विल आयो भने तिर्ने पक्षमा छैनौँ । विल धेरै आउँछ भनेर केहि महिनादेखि चलाएका छैनौँ ।’
उनका अनुसार प्रति घण्टा १०० रुपैयाँ लिने गरि विद्युत प्राधिकरणले कार्यतालिका विभाजन बनाएको छ । एक घण्टामा २० युनिट विद्युत खपत हुन्छ । प्रति विगाहा खेतीमा सिँचाइ गर्न ४ घण्टा लाग्छ ।
प्राधिकरणको कार्यतालिका अनुसार विहान, दिउँसो र बेलुकाको समय मिलाएको छ । वेलुका ५ वजेदेखि राति ११ वजेसम्म प्रतिघण्टा ६ रुपैयाँ युनिट, विहान ५ वजेदेखि वेलुका ५ वजेसम्म प्रतिघण्टा साढे ३ रुपैयाँ युनिट लाग्ने छ ।
साधारण तय अरु बेला मोटरबाट सिँचाइ गर्दा भन्दा ट्युबवेलबाट सिँचाइ गर्दा विद्युत महशुल चारगुणा महंगो भएको बरालको भनाई छ ।
ट्युबवेलबाट सिँचाइ गर्न सरकारलाई ट्याङ्की निर्माणका लागि १० धुर जग्गा निःशुल्क उपलब्ध गराएका समितिका उपाध्यक्ष समेत रहेका मणिकुमार भट्टराईले ट्याङ्कीबाट पानी आउटफ्लो भएको जानकारी दिए । भट्टराई कै घर छेउमा रहेको ट्याङ्कीको रेखदेख पनि उनैले गर्छन् ।
‘मिसिन चलाउँदा ट्याङ्कीमा पानी प्रशस्त आउँछ’, उनले भने–‘तर, चाहिँने भन्दा बढी पानी आएर ट्याङ्कीबाट पानी बाहिर जान्छ । ओभरफ्लो भएर पानी पास हुँदैन ।’ ट्याङ्कीबाट पानी डाइरेक्ट गरे समस्या समाधान हुने उनको अनुमान छ ।
झापा भूमिगत जल सिँचाइ आयोजना भद्रपुरका प्रमुख कृष्णप्रसाद उपाध्यायले विद्युत महशुल महंगो भएको गुनासो किसानबाट आएको बताए । किसानलाई विद्युत महशुलमा ८० प्रतिशत छुट हुनुपर्छ भनेर सम्बन्धित मन्त्रालयमा कार्यविधि बनाएर पठाएको उनले जानकारी दिए ।
‘ट्याङ्कीमा आउट फ्लोको समस्या आएको छ’, उपाध्यायले भने–‘अहिले परिक्षणकालको अवस्था हो । किसानलाई हस्तान्तरण गरिसकेको छैन । हस्तान्तरण गर्ने अवस्था सम्ममा समस्या समाधान गरिने छ ।’
उनले झापाका अन्य पालिकामा ट्याङ्कीमा ओभर फ्लोको समस्या नभएको बताए । कचनकवल गाउँपालिकामा अघिल्लो वर्ष ५३ वटा डिप ट्युबवेल सिँचाइ निर्माण भएको छ । गतवर्ष १७ वटा र यसवर्ष ५ वटा ट्युबवेल निर्माण गरेको कार्यालयले जनाएको छ ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजबंशीले लगभग सबै वडामा डिप ट्युबवेलबाट सिँचाइ पुगेको बताए । उनले सिँचाइ प्रविधिबाट विद्युत महशुल महंगो छ भनेर किसानहरु गाउँपालिकामा आएर जानकारी नगराएको बताए । त्यस्तो समस्या छ भने स्थानीय सरकारले पहल गर्ने अध्यक्ष राजबंशीको भनाई छ ।
(बनियानीमा स्थलगत रिर्पोटिङ)
Discussion about this post