मेचीनगर, २१ माघ । मेचीनगरको ग्रामिण भेगमा रहेको एउटा सामुदायिक विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर २१ वर्षपछि नेताहरुलाई बोलाएर विद्यालयको अवस्थाका बारेमा स्थलगत अवलोकन गराउँने भएको छ ।
आज मेचीनगर नगरपालिका–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारीका बारेमा जानकारी गराउँने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा ग्रामिण भेगमा रहेको विद्यालयको अवस्था बुझ्न नेताहरुलाई बोलाएको बताइएको छ ।
सहायक प्रधानाध्यापक राजीप गिरीले स्थापना भएको २१ वर्षसम्म विद्यालयको अवस्था बुझ्न कोहि नेताहरु नआइपुगेका बताए । उनले स्वर्ण महोत्सवमा पहिलो पटक नेताहरुलाई विद्यालयमा टेकाएर अवस्थाका बारेमा बुझाउँने दावी गरे ।
स्वर्ण महोत्सवको प्रमुख अतिथिका रुपमा संघीय प्रतिनिधि सभा सदस्य बिश्वप्रकाश शर्मा, विशिष्ठ अतिथिमा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहने विद्यालयले जनाएको छ ।
विं.स.२०३१ सालमा स्थापना भएको विद्यालयले आउँदो फागुन २ र ३ गते स्वर्ण महोत्सव मनाउँन लागेको छ । विद्यालयको स्थापनादेखि हालसम्मको अवस्थाको बारेमा स्मारिका प्रकाशनसँगै पाण्डुलिपी सार्वजनिक गर्ने योजना रहेको छ ।
स्वर्ण महोत्सवका दिन मन्जुकुमारी दाहालले निर्माण गरिदिएको विद्यालयको स्मारक स्तम्भ, राजु लामाले निर्माण गरिदिएको सरस्वती मन्दिरको उद्घाटन गरिने छ ।
विद्यालयको अतिरिक्त क्रियाकलापका लागि मेचीनगर–५ को वडा कार्यालयले १ लाख, रंगरोगनका लागि २ लाख ५० हजार सहयोग गर्ने भएको व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र गिरीले बताए ।
स्वर्ण महोत्सव सम्पन्न गर्न स्मारक र मन्दिर बाहेक ७ लाख खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमा अपुग रकम सामुहिक अक्षयकोषको ब्याज र देउसीभैलोबाट उठेको रकमबाट महोत्सव सम्पन्न गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेले बताए ।
महोत्सवको तयारी स्वरुप विद्यालयले विभिन्न कार्यक्रमको शुरुवात समेत गरिसकेको छ । जसमा मेचीनगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सोमबारदेखि मेचीनगर स्तरीय छात्र क्रिकेट प्रतियोगिता पनि शुरु हुनेछ ।
उक्त क्रिकेट प्रतियोगितामा प्रथम र द्धितिय हुने विद्यालयलाई क्रमश : २० हजार र १५ हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने न्यौपानेले जानकारी दिए ।
आइतबार विद्यालय पसिरमा सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा बाल कल्याण मावि प्रथम, धुलाबारी मावि द्धितिय र काँकरभिट्टामा मावि तृतिय भएका छन् । उनीहरुलाई नगदसहित सम्मान गरिएको छ ।
फागुन ३ गते वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयलाई जग्गा दिने जग्गादाता, संस्थापक, शिक्षाप्रेमी व्यक्तित्वहरुलाई समेत सम्मान गरिने भएको छ ।
विद्यालयमा यसअघि अध्यापन गराएका शिक्षक–शिक्षिकाहरुलाई समेत सम्मान गरिने भर्खरै गठित पूर्व विद्यार्थी समाजका अध्यक्ष नवराज सुवेदीले बताए ।
Discussion about this post