झापा, २३ माघ । अस्ताए झापाका लोकप्रिय नेता केशवकुमार बुढाथोकी ।
उनको मंगलबार शव यात्रामा सहभागी हजारौँ शुभचिन्तकहरुले विदाइ गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री समेत रहेका झापा अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकीको ८० वर्षको उमेरमा सोमवार राति साढे ११ बजे निधन भएको हो ।
उनी झापाली जनतामा जुझारु, जनपक्षीय र साझा नेताको रुपमा परिचित थिए । निडर र स्पष्ट वक्ता भएकाले उनलाई जनताले ‘सेतो बाघ’को संज्ञा दिएका थिए ।
लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी रहेका उनको उपचारकै क्रममा बिराटनगरको बिराट मेडिकल कलेजमा निधन भएको थियो । विदेशमा रहेका छोराछोरीहरु आएपछि मंगलवार विहान उनको पार्थिव शरीरलाई शनिश्चरे स्थित निवासमा ल्याइएको थियो ।
दिउसो बिर्तामोड स्थित पार्टीको जिल्ला कार्यालयमा उनको पार्थिव शरीरलाई श्रद्वञ्जलिका लागि राखिएको थियो । उनको दाहसंसकार कनकाईको आर्यघाटमा गरिएको थियो ।
बिर्तामोड पार्टी कार्यालयमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली श्रद्धाञ्जलि अर्पण दिएका थिए । श्रद्धाञ्जलि दिँदा उनी निकै भावुक बनेका थिए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका अध्यक्ष ओली काठमाडौंबाट मंगलबार ठिक १२ वजे सौर्य एयरलायन्सको एउटै जहाजबाट सँगसँगै गृहजिल्ला आएका थिए ।
झापा इनर्जीको उद्घाटन गर्न झापा आएका ओली चारआलीबाट शिवसताक्षी जानुअघि सोझै नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर आफ्ना प्रिय साथी बुढाथोकीलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । एमालेका अन्य नेताहरुले पर्नि श्रद्धाञ्जलि दिएका थिए ।
महामन्त्री शर्माले चारतारे झण्डा ओढाएका थिए । श्रद्धाञ्जलि सभामा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मुख्यमन्त्री उद्धव थापा, जिल्ला सभापति देउमान थेबे, बुढाथोकी परिवारका शोकाकूल सदस्यहरु, कांग्रेस कार्यकर्तासहित हजारौं झापालीको उपस्थिति रहेको थियो ।
Discussion about this post