झापा, २४ माघ । शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगाना दम्पत्तिले पत्रकार सहारा उपचार कोषलाई तीन लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरेका हुन् ।
कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी हो । ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले प्रशंसा गरेका छन् ।
बिर्तामोड नगरपालिका–५ का स्थायी बासिन्दा ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन र श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुन् । ढुंगानाले शैक्षिक, सामाजिक, मानवीय र धार्मिक क्षेत्रमा विगतदेखि नै योगदान गर्दै आएका छन् ।
कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको छ ।
Discussion about this post