मेचीनगर, २६ बैशाख । आमाको निधनपछि विचल्लीमा परेका मेचीनगरका तीन बालबालिकाको घर निर्माणका लागि सहयोग आह्वान गरिएको छ ।
मेचीनगर–१२ का ४८ वर्षीय पद्मा भुजेलको निधनपछि बालबालिकाको गाँस, बास र शिक्षाको ब्यवस्थापनका लागि छड्के अनुसन्धान मिडिया प्रालिले सार्वजनिक सहयोगको आग्रह गरेसँगै संकलित रकमबाट घर निर्माण सुरु गरिने भएको हो ।
दाताहरुबाट नगद र घर निर्माणका सामाग्री सहयोग जुट्न थालेपछि करिब १० लाख बढी लागत स्टिमेटमा टिनको छाना, भान्सासहित २ कोठे घर निर्माणको सुरुवात गरिने बताइएको छ ।
घर निर्माणका लागि मंगलबार बसेको भेलाले प्रालिका सञ्चालक खगेन्द्र घिमिरेको संयोजकत्वमा ११ सदस्यीय निर्माण समिति गठन गरेको छ । समितिको सदस्यमा गंगा उराउ मेचे, गोपी रिजाल, सोम ओझा, रामबहादुर मगर, बिपिन प्रसाईं, बिष्णु बुढाथोकी, सन्दीप तिम्सिना, भीम कुवर, कविन्द्र श्रेष्ठ, सुमित्रा गौतम रहेका छन् ।
घर निर्माणार्थ हालसम्म विभिन्न ठाउँबाट दाताहरुले ७० हजार नगद र निर्माणका सामाग्री सहयोग गरेका छन् ।
हातेमालो जनसेवा समाजका केन्द्रीय सदस्य राम थापाले २० बोरा सिमेन्ट सहयोग गरेका छन् भने, मेचीनगर–१० का वडा सदस्य सोम ओझाले जस्ता पाता र स्वास्थ्य बीमाको सहयोग गर्ने भएका छन् ।
मेचीनगर–५ का उमेश उप्रेतीले घर निर्माणमा लाग्ने काठको व्यवस्थापन गर्ने भएका छन् । त्यस्तै इट्टा, रंगरोगन, पिउने पानीको व्यवस्थापनका लागि दाताले सहयोग गर्ने वचन दिदै आएका छन् । नगद सहयोग समेत जुट्दै आएको छ ।
तीन बालबालिकामध्ये रोहन भुजेल कक्षा ५ मा, तारा कक्षा ४ मा र करुणा कक्षा २ मा पढेदैछन् । उनीहरु स्थानीय मेचीनगर–११ स्थित बलभद्र माविमा अध्ययनरत छन् । उनीहरुलाई उच्च शिक्षा र त्यसको व्यवस्थापन गर्न समेत शिक्षासेवीहरुले इच्छा व्यक्त गर्दै आएका छन् ।
घर निर्माण समितिका संयोजक घिमिरेले घर निर्माण सम्पन्न गर्न अझै आर्थिक अभाव नै भएकाले इच्छुक दाताहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।
स्व.पद्माका श्रीमान धनबहादुर भुजेल गाउँमा मेलापात र मजदुरी गर्दै आएका छन् । आफ्नो नाममा जग्गा नहुँदा स्थायी बसोबास गर्न नसकेका भुजेल परिवार विगत ४ वर्षयता मेचीनगर–१२ स्थित हडिया खोलाको ऐलानी जग्गामा बस्दै आएका छन् ।
Discussion about this post