मेचीनगर, १५ जेठ । इलामको सूर्याेदय नगरपालिका–१० हाल मेचीनगर–७ निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसकेपछि परिवारले सहयोगको अपील गरेको छ ।
उनलाई एक महिनाअघि लिभर जन्डिस भएको थियो । शरिर पहेँलो हुँदै गएपछि उनलाई उपचारको लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल लगिएको थियो ।
उपचारमा संलग्न चिकित्सकले लिभर जन्डिस भएको पुष्टि गरेपछि अन्य अस्पतालमा लगेर उपचार गराउन सुझाव दिएका थिए । त्यसपछि सञ्जयलाई उपचारको लागि भारतको हैदरावाद लगिएको थियो ।
त्यहाँका चिकित्सकले लिभर फेर्नुपर्ने र फेर्नका लागि भारु ४० लाख रुपैयाँ खर्च लाग्ने भनेपछि परिवारले विरामीलाई नेपाल पर्काएका थिए । उनलाई हाल भक्तपुर स्थित शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको परिवारले जनाएको छ ।
परिवारका अनुसार सञ्जयको उपचार सुरु गर्न २० लाख जम्मा गर्न अस्पतालले भनेको छ । बाँकी २० लाख रुपैयाँ उपचारमा लाग्ने जनाइएको छ । तर परिवारसँग यति ठूलो रकम नभएकाले सबैसँग सहयोगको अपिल गरिएको छ ।
मंगलबार प्रेस क्लव मेचीनगरको कार्यालयमा आफन्तले पत्रकार सम्मेलन गरेर उनको उपचारमा आर्थिक सहयोग गरी जीवन बचाइदिन आग्रह गरेका हुन ।
‘सञ्जयको स्वास्थ्य अवस्था गम्भीर छ’ सञ्जयका ठूलो बुबा दशरथ प्रधानले भने,’ ‘जन्डिस विग्रीएर पेटमा पानी जमेको छ । कलेजो ट्रान्सप्लान्ट गर्नूको विकल्प रहेन छ । प्रत्यारोपणको लागि ४० लाख लाग्ने रहेछ । त्यत्रो रकम कहाँबाट जुटाउने पारिवारिक अवस्था सारै कमजोर छ । सबै मनकारी हातहरुले आर्थिक सहयोग गरेर सञ्जयको जीवन बचाइदिनु होला ।’
सञ्जय मेचीनगर–७ स्थित ठूली आमा खरीमाया बाँस्कोटाको घरमा बसेर बैंकिङ क्षेत्रमा काम गर्दै आएका थिए ।
Discussion about this post