मेचीनगर, १६ जेठ । कोशी सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले नेपालमा व्यवस्था बदलिए पनि जनताको अवस्था उस्तै रहेको बताएका छन् ।
आज मेचीनगर–८ स्थित होटल मेची क्राउनमा मेची कमर्स एण्ड ट्रेड प्रालिले आयोजना गरेको ब्राभो टेलिभिजनको लक्की ड्र कार्यक्रममा मन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् ।
उनले मुलुकमा पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा व्यवस्था मात्र फेरियो तर, जनताको अवस्था नबलिएकोमा चिन्ता व्यक्त गरेका थिए ।
‘हाम्रो पालामा टिभी हेर्न गाउँभरिका मान्छे एउटा घरमा भेला हुइन्थ्यो’, मन्त्री कार्कीले भने–‘त्यही पनि विजुली हुँदैन थियो बेट्रीबाट हेरिन्थ्यो । अहिले प्रविधिले मानिसलाई कहाँ पुर्याई दियो । उक्त कम्पनीले विराटनगरमा ब्राभो टेलिभिजन उत्पादन गर्न थालेको छ । एकदम सराहनीय काम हो ।’
उनले भने–‘राज्यलाई कर तिरेर स्वादेशी उत्पादनलाई जोड दिइरहेको छ । विदेशी सामान किनेर पुँजी पलायन भइरहेको छ । आयात मात्र छ निर्यात गर्ने वस्तु केहि छैन । एउटा पिरो खोर्सानी ल्याउन पनि भारतको भर पर्नु पर्छ ।’
सोही अवसरमा कम्पनीले दोस्रो लक्की ड्रको स्किम अनुसार विजेता ग्राहाकहरुलाई ब्राभाको टेलिभिजन, वासिङमेसिन, फ्रिज, बुलेट बाइक, स्कुटर, एसी, क्रके लगायतका इलेक्ट्रोनिक सामानहरु दिने घोषणा गरिएको थियो । लक्की ड्र प्रत्यक महिनामा हुने गरेको छ ।
कार्यक्रममा हास्य कलाकारहरु सुवोध गौतम र पारस सरकारको उपनामले परिचित भरतमणि पौडेलले कम्पनीका सञ्चालक, डिलर र ग्राहकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मेची कमर्स एण्ड ट्रेड प्रालिका झापा संयोजक शिवराम वस्नेतको अध्यक्षता, स्वागत कार्यकारी निर्देशक भरत ढकालले र कार्यक्रमको सञ्चालन राधिका कडेलले गरेकी थिइन् ।
Discussion about this post