काँकरभिट्टा, ७ साउन । आज काँकरभिट्टा स्थित वीपी–पुष्पलाल बाटिकामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइएको छ ।
नेकपा एमाले मेचीनगर कमिटीको आयोजनामा संस्थापक नेता पुष्पलालको जीवनी, बृक्षारोपण तथा रक्तदान कार्यक्रम गरी स्मृदि दिवस मनाएको हो ।
वीपी–पुष्पलाल बाटिकामा पुष्पलालसँगै रहेको काँग्रेसका जननायक वीपी कोइरालाको पनि पूर्णकदको सालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले पुष्पलाल जातपात मान्नु हुन्न भन्ने पक्षमा रहेको बताइन् ।
उनले त्यसबेला जातपातको उन्मुलन गर्नुपर्छ भन्ने स्पष्ट विचार राखेका थिए । त्यसैले पुष्पलालले आफ्नो नामको पछाडि कहिल्यै श्रेष्ठ नलेखेको दावी गरिन् ।
सोहि अवसरमा पार्टीका झापा अध्यक्ष प्रेम गिरीले पुष्पलालको जीवनीमाथि प्रकाश पादैँ नेपाली बाम प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय पुष्पलालको योगदान जति चर्चा गरे पनि कम हुने बताए ।
वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लाको भंगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा जन्मेका पुष्पलालको निधन विंसं २०३५ साउन ७ गते ५४ वर्षको उमेरमा भारतको दिल्लीस्थित गोविन्दबल्लभ अस्पतालमा भएको थियो ।
कार्यक्रममा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई, मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, कोशी प्रदेश सभाका पूर्व सांसद श्रीप्रसाद मैनाली, कोशी प्रदेश कमिटी सदस्य देबकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा अनेरास्ववियू मेचीनगरले मेची सामुदायिक भवनमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । २५ जनाले रक्तदान गरेका थिए ।
एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।
Discussion about this post