सुरुङ्गा, १७ मंसिर । स्थानीय तहको उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् ।
राति साढे १२ वजे सम्पन्न मतगणनाको परिणाम अनुसार वडा नम्बर ६ को वडाध्यक्षमा ओली निर्वाचित भएका हुन् ।
ओलीले ४९३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी वडाध्यक्षका उम्मेदवारहरु नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, नेकपा एमालेका तुलाराम बस्नेतले ३५६, नेकपा माओवादी केन्द्रका गणेश थापाले २७७, राप्रपाकाा नारायणप्रसाद निरौलाले २६, मंगोल नेशनल अर्गनाइजेशनका पदमबहादुर तामाङले २०, जनमत पार्टीका शुकलाल राजवंशीले ९, नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
वडाध्यक्षमा निर्वाचित ओलीलाई राति नै निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र समेत दिइसकेको छ । एक हजार ५१३ मत खसेकोमा ७ मत बदर भएको छ । कुल मतदाता दुई हजार ५८ रहेका थिए ।
कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ बर्षको उमेरमा गत असारमा निधन भएपछि रिक्त वडाध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।
Discussion about this post