मेचीनगर, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्केपछि बाहुनडाँगीको मानवसेवा आश्रमको उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास गर्ने भएका छन् ।
बाहुनडाँगीको मानवसेवा आश्रमले आज पत्रकारसँगको भेटघाटमा यही मंसिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा सडक मानवको उद्धारमा सक्रिय मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) को १९ औँ बाहुनडाँगी शाखा कार्यालयको उद्घाटन तथा वृहत गुरु योजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।
हाल उक्त आश्रममा ३३ जना पुरुष र १० जना महिला गरी ४३ जना सडक मानवको उद्धार गरेर आश्रय दिइरहेको छ । उनीहरुको आश्रमका ८ जना कर्मचारी तथा सहयोगीहरुले सेवा गरिरहेका छन् ।
२०६९ सालमा हेटौडामा आश्रमको मुख्य कार्यालय स्थापना भएको हो । आश्रमको देशभरी १९ वटा शाखा तथा २५ वटा सेवा केन्द्र रहेको छ ।
मुख्य कार्यालयका कोषध्यक्ष होमनाथ तिमिल्सिनाले देशभर नै खुल्ला आकाश मुनी रात विताउन विवश वेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, मानसिक तथा शारिरिकरुपमा अति कमजोर, अनाथ तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्दै राष्ट्रलाई नै २०८२ सालभित्र कोही पनि मानिस भोकै र नाङ्गै रहन नपर्ने अवस्था निर्माण गर्नका लागि आश्रम मानविय सेवामा निरन्तर सक्रिय रहेको बताए ।
उनका अनुसार आश्रमले देशभरबाट हालसम्म १० हजार ८२७ जना स्वादेशी तथा विदेशी सडक मानवहरुको उद्धार गरिसकेको छ ।
बाहुनडाँगी आश्रममा हाल ५० जनासम्म आश्रय दिएर राख्न सक्ने क्षमता रहेको बताए । आगामी वर्ष आश्रममा एकसय पुर्याउने लक्ष्य रहेको छ । त्यसको क्षमता बढाएर १५० जनासम्म अटाउन मिल्ने गरिको तयारी भइरहेको उनको भनाई छ ।
आश्रममा रहेका आमा–बुबाहरुलाई हेरचाह, पालनपोषण र उपचार समेतको व्यवस्था गरिएको छ । आश्रममा योग ध्यान, मनोपरामर्श लगायत उद्यमशिलतामा समेत ध्यान दिएको बताइएको छ ।
आश्रमको वृहत गुरु योजना अन्तरगत ५ वर्षभित्र २२ करोड लगानीमा योग ध्यान भवन, उत्पादनमुखी कार्य, महिला र पुरुषको छुट्टा छुट्टै भवन लगायतका कामहरु गरिने तिमिल्सिनाको भनाई छ ।
आश्रमका लागि स्थानीय समाजसेवी रामबहादुर प्रधान र उनका परिवारले २ विघा ५ कठ्ठा जग्गा दान गरेका थिए ।
पत्रकार भेटघाटमा आश्रमका केन्द्रीय कोषाध्यक्ष तिमिल्सिना, कोशी प्रदेश प्रमुख नवराज केसी, कोशी प्रदेश संयोजक गंगाकुमारी थापा, झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
भिडियो पनि हेर्नु होला ।
Discussion about this post