।। अर्जुन कार्की ।।
मेचीनगर, १३ पुस । झापा पृथ्वीनगरकी ४५ वर्षीया देवी पाण्डे सस्तो जग्गा भेटे जहाँ भए पनि किनेर घर बनाउने सोचाईमा थिइन् ।
उनले सोचेकै जस्तो जग्गा पाइन् । उनलाई जग्गा कहाँ छ भनेर थाहा थिएन । आफ्नै सानो जिप भाडामा कुदाउँदै आएका उनका पतिले जग्गा कारोवारसँग सहकार्य गरेर दश वर्षअघि मेचीनगर–७ को गैरीगाउँमा ११ धुर जग्गा ३ लाखमा किनेका थिए ।
देवीले उनका पतिसँग जग्गा कहाँ किन्नु भयो भनेर एकदिन सोधिन पतिले उत्तर दिए दशगजामा । दशगजा भनेको उनकी पत्नी देवीलाई थाहा थिएन ।
एकदिन पतिले उनलाई जग्गा देखाउन ल्याए । भारतसँग सीमा जोडिएको नेपालको दशगजाको नेपाल ९०÷२ पीपी–५० नम्बरको पिलर छेउको यो हाम्रो जग्गा हो भनेर देखाए । देवीले पिलर देख्दा छक्क पर्दै भनिन् यो भारत होइन र, छेउको खोला देखाउँदै भनिन्–‘खोलाले बगाउँछ होला ।’
स्थानीय बद्रीप्रकाश उप्रेतीको नम्बरी धनिपूर्जा भएको ११ धुर जग्गा उनीहरुले किनेका थिए । जुन जग्गा दशगजाको पिलरदेखि ३० फुट वारी पश्चिममा पर्छ । नेपाल र भारतको सहमति अनुसार पिलरदेखि वारी वा पारी ३० फुटभित्र दशगजामा घर, खेतीपाती लगाउन मिल्दैन ।
दशगजा पिलरको पूर्व र पश्चिम ३० फुट खाली छ । पिलरको छेउमा सशस्त्र प्रहरीको सानो छाप्रो छ । नेपाल पट्टिका प्रहरी पिलर कटेर पारीसम्मको गाउँ ओहोरदोहोर गरेर गस्ती गर्छन् । तर, भारतका एसएसवीले पिलरदेखि वारी अर्थात नेपालपट्टि पाइलै टेक्दैनन् । पिलर छेउबाट प्रायः हिड्छन् । गस्ती गर्छन् ।
दशगजामा नै घर बनाएकी देवीले भनिन्–‘एकदिन एसएसवी पिलरसम्म आएर भने मेडम पानी पिलाओ । पिलरभन्दा एकइन्च यता आउने कोशिश गरेनन् । त्यहिबाट पानी मागे बोतलमा लगेर दिए । उतैबाट लागे । उनले करेसा बारीमा ३÷४ वटा बाख्रा पालन गरेकी छन् ।
‘नेपालको लाष्टमा घर छ’, उनले भनिन्–‘अन्तिम धनिपूर्जा हाम्रो हो ।’
उनले दशगजामा घर भएका कारण सास्ती पनि व्यहोरेकी छन् । वारीपारी गर्ने साना व्यापारीले कहिले काहिँ यो बाटो भएर अवैध माल सामान भित्राउँदा प्रहरीसँग झडप हुने गरेको छ । त्यसको मार गाउँलेले खेप्ने गरेका छन् ।
उनका अनुसार एकदिन भारतबाट व्यापारीले कपडाहरु ल्याउदै गर्दा सशस्त्र प्रहरीले खोसेपछि झडप भयो । झडप हुँदा व्यापारीले प्रहरीलाई ढुंगा हान्दा घरको टिनमा खसेको थियो । यो प्रक्रिया यहाँ भइरहन्छ, उनको गुनासो छ ।
दशगजा स्थित घरमा बात्ति काट्दै गरेकी अर्की स्थानीय ६५ वर्षीया होमादेवी खनालको पीडा पनि उस्तै छ । उनले भनिन्–‘प्रहरीको छाप्रो छेउमा हुँदा सुरक्षित भएको महशुश हुन्छ । तर, व्यापारीले कहिले प्रहरीलाई ढुंगा हान्छन् । अनि टिनमा ढ्वाङग गर्छ । कहिले छाप्रो जलाई दिन्छन् । दशगजामा डरै छ ।’ खनाल पनि २० वर्षअघि धुलाबारीबाट सस्तो जग्गा खोजेर बसाई आएका हुन् । उनको १० धुर नम्बरी जग्गा छ ।
एसईईको तयारी गरिरहेकी कक्षा–१० पढ्दै गरेकी स्थानीय छात्रा पार्वती ठकुरीले दशगजाको पिलर छेउको खाली जग्गामा गाउँलेहरु मिलेर क्रिकेट, भलिबल, कबड्डी लगायत खेल खेल्ने गरेको बताइन् ।
यसअघि पनि त्यहिँ नजिकै साना व्यापारी र सशस्त्र प्रहरीको झडप हुँदा प्रहरीको खुकुरी प्रहारबाट व्यापारीहरु घाइते भएका थिए । व्यापारीहरुले पनि प्रहरीले पक्रेको सामान खोस्दा ढुंगामुढा गरेका थिए ।
दशगजाको पिलरको ३० फुट वारी र पारीपट्टि नेपालीको खेतीपाती छ । पिलरको वारी र पारी पट्टि तोरीवारी छ । तोरी लटररम्म उम्रिएको छ । स्थानीय खगेन्द्र तिवारीको जग्गामा गाउँलेले वार्षीक भाडा तिर्ने गरी तोरी खेती गरेका छन् । गाउँलेले वषैँदेखि पिलर वारी र पारी आलु, लसुन, धान, मकै, सिमल तरुल, बन्दाकोपी, उखु खेती गरिरहेका छन् ।
विजुली, पानी र वत्तिको व्यवस्था वारी पट्टिकोले नै उपलब्ध गराएको छ । पिलर उता भारतीय भूमि भएपनि स्थानीय नेपाली किसानहरुले खेती गर्दै आएका छन् । पारी अर्थात मेची खोला यतै करिव १५ वटा किसानको घर छ । उता पनि नेपालकै विजुली, पानी र वत्तिको व्यवस्था छ । सडकको भने समस्या छ । गौरी गाउँदेखि घर, खेत र पिलर छेउ छाउसम्म जाने पिच नपुगेकोमा स्थानीयको गुनासो छ ।
दशगजामा खेतीमा काम गर्दै गरेको बेला भेटिएका गमेचीनगर–६ स्थित पुरानो भन्सारका ७७ वर्षीय कृषक टंकबहादुर राईले पिलरको भाग छोडेर दशजगा वारी २ कठ्ठा, पारी पट्टि ७ कठ्ठा जग्गामा तरकारी तथा धान, मकै खेती गरिरहेको बताए ।
‘पहिला वारीपट्टि ७ कठ्ठा जग्गा थियो’ राईले भने–‘पिलर बिचमा भएकोले मालपोत कार्यालय झापाले धनिपूर्जामा ५ कठ्ठा जग्गा काटिदियो । कार्यालयले नेपालपट्टि दशगजाको जग्गा हाम्रो सबै पढ्दैन भन्यो ।’
३० वर्षदेखि रिक्सा चलाएर परिवार पाल्दै गरेका ५१ वर्षीय श्याम बातरको पनि पीडा उस्तै छ । सिटी रिक्सा आएपछि रिक्सा चलाएर परिवार धान्न नसक्ने बातरले पनि तीस वर्षअघि उप्रेतीसँगै ३० हजारमा १० धुर जग्गा किनेका थिए । उनको पनि अढाई धुर जग्गा काटिदा दशगजाको सीमाना घरको आगनमा आइपुगेको छ । उनका अनुसार उक्त जग्गा छाडेको ४ वर्ष भएको छ ।
पिलरदेखि पूर्व अर्थात पारीपट्टिनेपालीको करिव १५ घर छ । त्यहाँका स्थानीय खेतीपाती र मजदुरी गर्छन् । पारिपट्टिबाट नानी(छोरी) खेलाउँदै पिलरतिर वारी र पारी गरिरहेका टीका चौधरीले हजुरबुबाको पालादेखि यहाँ बसेको बताए । ‘हामी नेपाली नै हौँ’, चौधरीले भने–‘तरपछि पिलरले गर्दा पारीपट्टिका भयौँ ।’
त्यसो त प्रायः दशगजाका स्थानीयको खेती वारी र पारी दुवैतिर छ । गस्तीमा आउने एसएसवीले पनि उनीहरुलाई यहाँबाट हट्नु पर्छ नभनेको गाउँलेको भनाई छ । तर, नेपालतिरका प्रहरीहरुले कहिलेकाहिँ सोधपुछ गर्छन् ।
Discussion about this post