मेचीनगर, २३ पुस । संघीय सरकारका वन तथा वातावरण मन्त्री एनबहादुर शाहीले झापामा हात्तीको दीर्घकालिन समाधानका लागि कार्यविधि बनाएर आगामी बजेटमा समावेश गरिने बताएका छन् ।
आज धुलाबारीमा सांसद सचिवालय झापा निर्वाचन क्षेत्र नं. १ का संघिय सांसद विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको सर्वपक्षिय छलफलमा मन्त्री शाहीले यस्तो कुरा बताएका हुन् ।
उनले हात्ती र मानवबीचको द्वन्द समाधानका लागि सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘हात्तीको समस्याका विषयमा सबै दल र सरोकारवालाहरु एकजुट हुनु भएकोमा छलफल ऐतिहासिक रहेको छ’, मन्त्री शाहीले भने–‘पीडितलाई राहत १५ दिनभित्र दिने गरी निर्णय भएको छ ।’
उनले राहतलाई ढिलाई नगर्न संघ र प्रदेशका सचिवलाई निर्देश गरे । १४ बुँदे मागलाई संघ र प्रदेशले कार्यान्वयनमा लाने उनले बताए ।
मेयरले मन्त्रीलाई बुझाए १४ बुँदे माग पत्र
मंगलबार भएको सर्वदलिय छलफलको १४ बुँदे मागलाई मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले संघीय मन्त्री शाही र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई बुझाएका छन् ।
हामी पनि दोषी छौँ : मन्त्री मण्डल
कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री मण्डलले मानव हात्ती द्वन्द समाधानका लागि हामी पनि दोषी रहेको बताए । उनका अनुसार यस विषयमा हामी पनि सुध्रिनु पर्छ ।
‘मान्छे पनि बस्नु पर्छ, जनावरलाई पनि बिगार गर्नु हुँदैन’, मन्त्री मण्डलले भने–‘बजेट अभावले प्रदेश सरकारले काम गर्न सकेको छैन । संघीय सरकारले पनि दायरा फराकिलो पार्नु पर्छ ।’
के छ १४ बुँदे माग पत्रमा
मेचीनगरका मेयर बुढाथोकीले मन्त्रीलाई पेश गरेको १४ बुँदे माग पत्रमा तटबन्धन चाँडो सक्ने, बालीबीमालाई कार्यान्वयन गर्ने, जैविक करिडोर निर्माण गर्ने, हात्ती मैत्री पर्यटन विकासका लागि बजेट छुट्टाउने, हात्ती पीडित कृषकलाई वैकल्पिक बाली तर्फ आकर्षित गर्ने, सोलार फेन्सिङलाई मर्मत गर्ने, आरआरटीको टिमलार्य सवारी साधानको व्यवस्था गर्ने, जीपीएस, रेडियो कलर जस्ता प्रविधि प्रयोग गर्ने, हात्ती क्षेत्र मैत्री वनको विकास गर्ने, राहत सहज रुपमा पाउन कानुनी झन्झटको व्यवस्था मिलाउने, हात्ती प्रभावित क्षेत्रका लागि डेडिकेटेड सेवा उपलब्ध गराउने, मृतकका परिवारलाई राहतका लागि कार्यविधि बनाउने, स्थानीय सरकारबाट जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने र सामूदायिक वनको नीति, मानव हात्ती द्वन्द व्यवस्थापन, पर्यापर्यटनको विकास लगायत विषयहरु कार्यान्वयन गर्ने रहेका छन् ।
कार्यक्रममा कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, एनटिडीसीका डा.नरेश सुवेदी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, कोशी टपु वन्यजन्तुका प्रमुख विज्ञ हरिभक्त आचार्य, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, सामाजिक अभियन्ता सागर शिवाकोटी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
२१ वटा हात्ती र ७२ जनाको मृत्यु
अहिलेसम्म झापामा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भइसकेको छ भने २१ वटा हात्तीको पनि मृत्यु भएको बताइएको छ ।
संघीय र प्रदेश मन्त्री लगायतको टिमले हात्ती प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
सांसद शर्माले सर्वपक्षिय भेलाको १४ बुँदे माग पत्रलाई संघीय सरकार र प्रदेश सरकारले कार्यान्वयन गरिदिन अनुरोध गरेका थिए ।
Discussion about this post