बिर्तामोड, ८ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले उद्योगी–व्यवसायीलाई आगामी वर्ष दस करोड भन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न आग्रह गरेका छन् ।
आज एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको बताए ।
उनका अनुसार एसियन हाइवेको निर्माणपछि सिंगो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भावना रहेको छ । ‘व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको छ’, कार्कीले भने–‘आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्छ । प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ ।’
स्थानीय उत्पादन र स्वरोजगार मुलक उद्यमको प्रर्वद्धनमा पर्यटन वर्षले थप टेवा दिने उनको जोड थियो । आगामी वर्ष लगानी सम्मेलन र चिया सम्मेलन समेत गरिने उनले बताए । कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन समेत गरिसकेको छ । उनले आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रर्वद्धन गर्न होटल व्यवसाय सहयोगी बन्न सक्ने धारणा राखे ।
कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकाल, बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, दमक उद्योगा वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० वटा व्यवसायीक स्टल रहेका छन् । महोत्सवमा खेल सामग्री, फुडकोड, सेल्फीजोन समेत रहेको छ । महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरुको सांगातिक प्रस्तुति रहने छ ।
नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तानसहितका देशमा उत्पादन भएका खाद्या तथा तयारी बस्तु, सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजक संस्था बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको मुख्य प्रायोजकका रुपमा एपोलो पेन्ट्स रहेको छ ।
महोत्सव उद्घाटनअघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु तथा शुभेच्छुकहरुको समूहले विभिन्न झाँकीहरुसहित नगरपरिक्रमा गरेका थियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले र सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।
Discussion about this post