बिर्तामोड, २७ माघ । चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल अवधिभर आर्मीले लालिगुराँस एशाेसिएशन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो ।
टाइब्रेकरमा पोखरालाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे ।
पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाएका थिए ।
पहिलो हाफमा विपक्षीको दबाब व्यहोरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आर्मीले खेलको ७९ औँ मिनेटमा विपक्षी पोष्टमा सशक्त आक्रमण गरेको थियो ।
आर्मीका जर्जप्रिन्स कार्कीले प्रहार गरेको पावरफुल सट पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाएका थिए ।
इन्ज्युरी समयमा आर्मीले विपक्षी पोष्टमा निरन्तर आक्रमण गर्याे ।
जिलेस्पीजंग कार्कीले डिबक्समा अनमार्क रहेको समयमा गरेको प्रहार महतोले विफल बनाए । लगत्तै जर्जप्रिन्सको हेडर क्रस बारमा लागेर बाहिरियो ।
पोखराले भने पहिलो हाफमा आर्मीमाथि दबाब कायम राखेको थियो । ३० औँ मिनेटमा पोखराका मुकुन्दकुमार न्युरोले आर्मीका गोलकिपरसँग वान भर्सेस वान गोल गर्न सकेनन् ।
७४ औँ मिनेटमा टिकाराज गुरुङले प्रहार गरेको बल गोलकिपरले उत्कृष्ट बचाउ गर्दा खेलमा अग्रता लिने अवसर पोखराले गुमाएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
बुधबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुनेछ ।
प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभी पाए ।
बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्येका एकजनालाई एक थान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।




Discussion about this post