मेचीनगर, ३२ साउन । मेचीनगर नगरपालिकाले खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण बनाउने भएको छ ।
मेचीनगर नगरपालिकाको यहि असार १० देखि २५ गते सम्पन्न आठौँ नगरसभाले मेचीनगरमा नै खानेपानी प्राधिकरण बनाउने निर्णय गरेको हो ।
खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्ने तयारी भईरहेको छ ।
नगरमा खानेपानी सम्बन्धि काम गर्ने भिन्दा भिन्दै कार्यालयहरु भएकोले नगरपालिकाले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नुपर्ने बताएको छ ।
खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिमा छलफल भईरहेको नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्तीले बताए ।
स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी सेवा सहज रुपमा उपलब्ध गराउन, ढल निकास र फोहोर पानीको व्यवस्थापन गर्न भन्दै पहिलोपटक मेचीनगरपालिकाले खानेपानी तथा सरसफाइ सम्बन्धमा कार्यविधि बनाई लागु गर्ने तयारी गरेको नगरपालिकाको भनाइ छ ।
मेचीनगरको काँकरभिट्टा, धुलाबारी, चारआली र बाहुनडाँगीमा भिन्दा भिन्दै कार्यालय स्थापना गरी नगरवासीलाई खानेपानी सहजरुपमा उपलब्ध गराईरहेको छ ।
यी सबैलाई एक ठाउँमा ल्याएर प्राधिकरण स्थापना गरिने वस्तीको भनाइ छ । नगरपालिकाले प्राधिकरण व्यवस्थापन प्रमुख (सीईओ) नियुक्त गरेर काम सुरु गरिने जनाएको छ ।
Discussion about this post