झापा, २७ भदौ । एम्मा राडुकानुले ब्रिटेनको ४४ वर्ष लामो प्रतीक्षालाई अन्त्य गर्दै महिला ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा यूएस ओपन टेनिसको फाइनलमा क्यानडाकी लेला फर्नान्डेजलाई हराएकी छन् ।
१८ वर्षीया राडुकानुले न्यूयोर्कमा आफ्नो अविश्वसनीय यात्रा पूरा गर्ने क्रममा १९ वर्षीया फर्नान्डेजलाई सोझो सेटमा ६–४, ६–३ ले हराएकी थिइन् ।
ब्रिटेनका लागि ४४ वर्षअगाडि ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा विम्बल्डन जितेकी भर्जिनिया वेड खेल हेर्न उपस्थित थिइन् । उपाधिसँगै राडुकानुले १८ लाख अमेरिकी डलर पुरस्कार पाइन् भने अब उनी विश्वकी २३औँ वरियताकी र ब्रिटेनकी पहिलो वरियताकी टेनिस खेलाडी हुनेछिन् ।
विजयपछि ब्रिटिश महारानीले राडुकानुलाई बधाई दिएकी छन् । “तपाईँको सफलतामा म तपाईँलाई बधाई दिन्छु,“ महारानीले भनेकी छन् । “युवा उमेरको यो असाधारण सफलता हो र तपाईँको कडा मिहेनत र समर्पणको प्रमाण हो ।“
“तपाईँको र तपाईँको प्रतिद्वन्द्वी लेला फर्नान्डेजको उल्लेखनीय प्रदर्शनले आउँदो पुस्ताको टेनिस खेलाडीलाई प्रोत्साहित गर्ने कुरामा मलाई शंका छैन ।“ ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गर्दै बधाई दिएका छन् ।
(बीबीसी)
Discussion about this post