झापा, २७ भदौ । जेल जीवन बिताइरहेका पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन ‘गोन्जालो’को ८६ वर्षको उमेरमा निधन भएको छ ।
१९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताए । शनिबार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन ‘साइनिङ पाथ’ को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह गरे वापत समातिएका थिए । केही दिनदेखि उनको स्वास्थ्य निकै बिग्रिएपछि अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ४० मिनेटमा उनको निधन भएको हो ।
गोन्जालोले पेरुमा पनि माओको बिचारलाई वर्ग युद्धमार्फत लागु गर्ने भनी १९८० मा सुरु गरेका थिए । उनले पेरुमा किसान र कट्टरपन्थी विद्यार्थीहरुलाई समेट्दै साइनिङ पाथ नामको विद्रोही समूह बनाएर सशस्त्र आन्दोलन सुरु गरेका थिए ।
पेरुमा १९८० देखि २००० मा साइनिङ पाथको आन्तरिक संघर्षको क्रममा ६९ हजार मानिस मारिएका थिए । गोन्जालोका अनुयायीहरु उनलाई मार्क्स, लेनिन र माओपछिको आदर्श नेताको रुपमा मान्ने गर्छन् । अर्थात् उनलाई मार्क्सवादको चौथो नेतृत्व मान्ने गर्छन् ।
सान अगस्टिन विश्वविद्यालयमा उनले कानून र दर्शन अध्ययन गरेका थिए । उनी एक आदर्शवादी र अध्ययनशील नेता मानिन्थे । उनी १९९२ मा पक्राउ परेपछि उनलाई पेरु सरकारले आजीवन कारावासको फैसला गरेको थियो ।
त्यसलगत्तै पेरुको साइनिङ पाथ आन्दोलन पनि तहसनहस बन्न पुगेको थियो । १९९२ मा राजधानी लिमामा २५ जना मारिने गरी भएको कार बम हमलाको आरोपमा समेत २०१८ मा गोन्जालोमाथि दोस्रो पटक आजीवन कारावासको फैसला सुनाइएको थियो । गोन्जालोलेका दुई जना श्रीमती थिए । दुबै जना श्रीमती नै साइनिङ पाथका नेत्री थिए ।
(एजेन्सी)
Discussion about this post