झापा, २५ कात्तिक । दोस्रो चरणको जनगणनाको तथ्याङ्क संकलन आजबाट सुरु भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले फारममा आफ्नो सम्पूर्ण विवरण भराएर कार्यक्रमको जिल्लामा शुभारम्भ गरेका हुन् ।
जिल्ला जनगणना कार्यायल झापाका प्रमुख चुडामणि लुईटेलले उनको क्वाटरमा आफैं गणकको रुपमा उपस्थित भएर विवरण संकलन गरेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, पत्रकार तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
जिल्लामा राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा एक हजार ४५२ जना गणक परिचालन गरिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ ।
पहिलो चरणमा सुवरिवेक्षकले संकलन गरेको घर परिवारका आधारमा गणकले जनसंख्यासहितको सम्पूर्ण विवरण लिइने जिल्ला जनगणना कार्यालय झापाका प्रमुख लुईटेलले बताए ।
उनले प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५०० घर परिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्नेछन् ।
झापामा वि.सं. २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अुनसार १ लाख ८४ हजार ५५५ घरपरिवार रहेका थिए । बर्तमान अवस्थमा ३४ प्रतिशत घर परिवार बढेको उनको भनाइ छ ।
आजदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुईवटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् । प्रमुख लुँइटेलका अनुसार जनगणनाको १२औं शृंखला अन्तरगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिनेछ ।
Discussion about this post