झापा, २९ कात्तिक । मूल्यवृद्धिको विरोध गर्दै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार आमहड्ताल (नेपाल बन्द)को आह्वान गरेको छ ।
वर्तमान गठबन्धन सरकारले एक महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी नागरिकको ढाड सेक्ने काम गरेको हुँदा नेपाल बन्द जस्तो कठोर विरोध कार्यक्रमको आयोजना गर्नु परेको पार्टीका मेचीनगर इञ्चार्ज जितु तामाङले बताए ।
सरकारले पछिल्लोपटक इन्धन (मट्टितेल, डिजेल र पेट्रोल)मा प्रति लिटर ३ रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँका दरले मूल्य बढाएको छ ।
मूल्यवृद्धिको चौतर्फी विरोध भइरहेका बेला विप्लब नेतृत्वको नेकपाले राँके जुलुस र नेपाल बन्दको आह्वान गरेको छ ।
नोपाल बन्दमा प्रेस, एम्बुलेन्स, विरामी बोकेका गाडी, दुध र तरकारी बोकेका गाडी र मोटरसाइकललाई निर्वाध आवागमन गर्न दिइने इञ्चार्ज तामाङले बताएका छन् ।
उनले नेकपा भूमिगत संरचनाबाट खुला भएपछि देशैभर संगठन विस्तार र जनजीविकाका सवालमा संघर्षरत् छ । झापाका १५ वटै पालिकामा पार्टी र युवा संगठन नेपालको कमिटीहरु निर्माण गरिएको उनले जानकारी दिए ।
मूल्यवृद्धि फिर्ता लिन सरकारलाई दवाव दिन आह्वान गरिएको नेपाल बन्दलाई समर्थन जनाइदिन उनले आम नागरिक, राजनीतिक दल, पेशागत संगठन, उद्योगी व्यवसायी र सञ्चाल जगतसँग अपिल गरेका छन् ।
Discussion about this post