मेचीनगर, २९ कात्तिक । मेचीनगरका १७ वर्षीय एक किशोरले निःशुल्क न्यानो कपडा उपलब्ध हुने स्टल राखेका छन् ।
मेचीनगर नगरपालिका वडा नं. १० को धुलावारी चोकमा राखिएको स्टलमा महिला, पुरुष र वालवालिकाले लगाउने मिल्ने विभिन्न तयारी कपडा छन् ।
जहाँबाट कपडा आवश्यक हुने सहयोगापेक्षी सडक मानव र विपन्न परिवारका जोसुकैले छानेर लैजान पाउँछन् ।
यो स्टल राख्ने श्रीजितजङ्ग ढुंगाना विर्तामोडको बाल्मिकी कलेजमा व्यवस्थापन संकायमा कक्षा १२ को परीक्षा दिएर हाल घरमै छन् ।
पढाइबाट फुर्सद भएको समयको उपयोग गर्दै गाउँघरबाट लगाउन मिल्ने कपडा संकलन गरेर नहुने व्यक्तिहरुका लागि निःशुल्क वितरणको व्यवस्था मिलाएको ढुंगानाले बताए ।
“जाडो मौसममा गरीव आमाबुवाहरु झुपडी वस्ती र सडकमा काप्दै हिँडिरहेको देख्दा सहयोग गर्नुपर्छ भन्ने लाग्यो,” उनले अभियान सुरु गर्नुको कारण बताउँदै भने–“अनि मैले पुराना तर लगाउन मिल्ने कपडा संकलन गर्न थालेको हुँ ।”
अभियान एक सय एक दिन सञ्चालन गर्ने र पुराना कपडाको पुनः उपयोगले पर्यावरण स्वच्छ राखन समेत सघाउ पुग्ने उनले बताए ।
कात्तिक २५ गतेदेखि निःशुल्क कपडाको स्टल राखिएको हो । हालसम्म दुई बोरा जति कपडा विपन्न तथा सडक मानवहरुले खुशी हुँदै लगिसकेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टल राखिएको र दाताहरुलाई पुराना लगाउन मिल्ने कपडा उपलब्ध गराउन आह्वान गरेपछि धेरै व्यक्तिले स्टलसम्मै कपडा पुर्याउन आउने गरेको बताए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्टलमै आएर थुप्रै कपडा प्रदान गर्नुभएको र धुलावारीको ट्राफिक प्रहरी बिटले स्टलको हेरचाहमा सहयोग पुर्याएको उनले जानकारी दिए ।
Discussion about this post