´दीर्घकालीन समस्या समाधानको पहल गर्नुस् त्यसका लागि मेरो तर्फबाट किस्ता बन्दीमा १ करोडसम्म दिन तयार छु । `
।। अनिल संग्राैला ।।
माननीय निशा डाँगी सांसद ज्यू, बजेट भाषण त भइसकेको छ । अब प्रश्न उठ्छ यो गम्भीर विषय बजेट तथा नीति कार्यक्रममा सम्बोधन भयो कि भएन ? यदि भयो भने त्यसको कार्यान्वयन कहाँ छ ? यदि भएन भने यो केवल सरकारको मात्र होइन, तपाईंहरू जनप्रतिनिधिहरूको पनि कमजोरी हो ।
फेरि अर्को नेपालीले हात्ती मानव द्वन्द्वको शिकार भएर ज्यान गुमाएको खबर सुन्नु पर्दा मन अत्यन्तै दुःखी भएको छ । मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
लाग्छ मानिसको जीवनको मूल्य पनि घट्दै गएको छ । केही समयअघि काँकरभिट्टामा मेरो घरन जिकै एउटा गौर गाई चिप्लिएर मर्दा त्यसलाई कसरी बचाउने भन्ने विषय राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा बन्यो । त्यो पनि आवश्यक थियो तर … वर्षौदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, चितवन लगायतका जिल्लामा हात्ती आतंकका कारण सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । कतिपय परिवार घरबार विहीन भएका छन्, खेतीपाती नष्ट भएका छन्, तर यो विषय अझै पनि प्राथमिकतामा परेको जस्तो देखिँदैन ।
माननीय निशा डाँगी सांसद ज्यू, तपाईं सामान्य नागरिक होइन, जनताको मतले निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । त्यसैले सामाजिक सञ्जालमा ´यस्तो गर्नुपर्छ` वा ´उस्तो गर्नुपर्छ` भन्ने सुझाव मात्र दिने होइन, संसद र सरकारका सम्बन्धित निकायमा तपाईंले यस समस्याको समाधानका लागि के पहल गर्नुभयो भन्ने कुरा जनताले जान्न चाहेका छन् ।
हात्ती मानव द्वन्द्व कुनै नयाँ समस्या होइन । वर्षौ देखि राजनीति हुँदै आएको छ । समस्या समाधान गर्छु भनेर तपाईंले पनि जनतासँग भोट माग्नुभएको होइन र ? एक पटक छातीमा हात राखेर इमान्दारी पूर्वक सोच्नुस् र भन्नुस……! हामी आलोचना मात्र गर्न चाहँदैनौ सुझाव दिन पनि तयार छौं, र आर्थिक तथा सामाजिक सहयोग गर्न पनि तयार छौं ।
माननीय निशा डाँगी सांसद ज्यू, अब केवल दुःख व्यक्त गर्ने होइन, स्थायी समाधानको आधार निर्माण गर्ने हो । अर्को निर्दोष नागरिकको ज्यान जानु अघि ठोस कदम चालियोस् भन्ने आम जनताको अपेक्षा छ । अब सामाजिक सञ्जालमा दुःख व्यक्त गर्ने मात्र होइन, तत्काल समस्याको समाधानका लागि ठोस पहल पनि गर्नुस् ।
जनताले सहानुभूति मात्र होइन, जिम्मेवार नेतृत्व र प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेका छन् । समस्या दोहोरिन नदिन आवश्यक नीति, निर्णय र कार्ययोजना अघि बढाउनु होस् ।
मानव र वन्यजन्तु दुवैको सहअस्तित्व सुनिश्चित गर्ने नीति निर्माण गरौं । जनताको सुरक्षा राज्यको पहिलो दायित्व हो ।
माननीय निशा डाँगी सांसद ज्यू, फेरि कसैको हात्ती आतंकबाट अकालमा ज्यान गयो भने त्यसको जिम्मेवारी तपाईंले लिन मात्र होइन पापको भारी पनि बोक्नुपर्छ…किनभने चुनावमा समाधान गर्छु भनेर नै भोट मागिएको हो कि होइन ? सुझाव, सल्लाह र आर्थिक सहयोग चाहिन्छ…?
दीर्घकालीन समस्या समाधानको पहल गर्नुस् त्यसको लागि म मेरो तर्फबाट किस्ता बन्दीमा १ करोडसम्म दिन आजै तयार छु । मलाई सम्पर्क गर्नुहोस्, धन्यवाद ।
(लेखक : संग्राैला काँकरभिट्टा निवासी हुन् । हाल बसाई अमेरिका)




Discussion about this post