मेचीनगर, २७ पुस । क्रिञ्जल फाउण्डेशनले धुलाबारी माविमा अध्ययनरत गरीब परिवारका विद्यार्थीलाई छात्रबृत्तिका लागि तीन लाख १६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ ।
आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर फाउण्डेशनका कार्यक्रम संयोजक आशिष लामिछाने र फोकल पर्सन हरि दाहालले सो रकम विद्यालयको खातामा जम्मा गरेको बैंक भौचर प्रधानाध्यापक महेन्द्र विलास लुईटेल र ब्यवस्थापन समिति अध्यक्ष गणेश बिक्रम नेम्वाङलाई हस्तान्तरण गरेका हुन् ।
फोकल पर्सन दाहालका अनुसार कक्षा १ देखि ११ सम्मका गरीब परिवारका ३९ जना विद्यार्थीका लागि फाउण्डेशनले सो रकम छात्रबृत्तिका लागि प्रदान गरेको छ ।
कक्षा १ देखि ५ सम्मका लागि ५ हजार ८००, कक्षा ६ देखि ९ सम्मका लागि ८ हजार ४५० र कक्षा १० देखि ११ सम्मका बिद्यार्थीलाई ११ हजार ६०० रुपैयाँ बार्षिक रुपमा फाउण्डेशनले उपलब्ध गराउने दाहालले जानकारी दिए ।
उनले पहिलो बर्ष जुन विद्यार्थीले छात्रबृत्ति पाएको छ, अर्को बर्षसमेत त्यही विद्यार्थीले पाउने गरी छात्रबृत्तिलाई निरन्तरता दिइने बताए ।
गरीवीकै कारण बिद्यालयमा आउँन बञ्चित हुने अवस्था नआओस भन्नका लागि फाउण्डेशनले गरीब परिवारका विद्यार्थीहरुका लागि ‘शिक्षा र दिक्षा’ कार्यक्रम अन्तर्गत छात्रबृत्ति कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक लामिछानेले बताए ।
धुलाबारी माविका प्रधानाध्यापक लुईटेलको सभापत्विमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारी, मेचीनगर–१० का वडाध्यक्ष सुवेशकुमार पनेरु, फाउण्डेशनका कार्यक्रम संयोजक लामिछान, फोकल पर्सन दाहाल लगायतले धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौंलागाईले गरेका थिए ।
Discussion about this post