मेचीनगर, ८ असार । झापामा पहिलाे पटक ´डाउन सिन्ड्रोम सोसाइटी` गठन भएको छ।
सोसाइटी गठनका लागि तत्कालका लागि ७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
समितिको अध्यक्षमा महेश खड्का, उपाध्यक्षमा बिमला चौधरी, सचिवमा टिका त्रिताल र कोषाध्यक्षमा अनुप राजवंशी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा झलक खतिवडा, कमल लेप्चा र बुद्धिमता अधिकारी रहेका छन् ।
तदर्थ समितिले संस्थालाई कानुनी रूपमा दर्ता गरी अधिवेशन गरेर नयाँ समिति बनाउने छ ।
डाउन सिन्ड्रोम तथा अन्य बौद्धिक तथा विकासात्मक अवस्था बारे समाजमा रहेको भ्रम र विभेद अन्त्य गर्न सचेतनामूलक अभियान सञ्चालन गरिने बताइएको छ ।
डाउन सिन्ड्रोम भएका बालबालिका तथा व्यक्तिहरूको अधिकार संरक्षण, शिक्षा, स्वास्थ्य र सामाजिक समावेशीका लागि झापामा डाउन सिन्ड्रोम सोसाइटी गठन भएको छ।
समावेशी र समान अवसरयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ स्थापना गरिएको सोसाइटीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरू तथा उनीहरूका परिवारको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको हाे ।
संस्थाले शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, क्षमता विकास, जनचेतना अभिवृद्धि तथा परिवारलाई आवश्यक परामर्श प्रदान गर्ने क्षेत्रमा काम गर्ने लक्ष्य लिएको छ ।
साथै डाउन सिन्ड्रोम तथा अन्य बौद्धिक तथा विकासात्मक अवस्था बारे समाजमा रहेको भ्रम र विभेद अन्त्य गर्न सचेतनामूलक अभियान सञ्चालन गरिने बताइएको छ ।
नवनिर्मित सोसाइटीले ´हरेक व्यक्ति विशेष छ, हरेक जीवन अमूल्य छ` भन्ने मूल भावनालाई आत्मसात गर्दै डाउन सिन्ड्रोम भएका व्यक्तिहरूलाई समाजको मूलधारमा सहभागी गराउन विभिन्न निकायसँग सहकार्य गर्ने योजना छ ।
डाउन सिन्ड्रोम भएका बालबालिकाले समयमै उचित शिक्षा, स्वास्थ्य, पुनर्स्थापना तथा सामाजिक समर्थन पाएमा उनीहरू पनि आत्मनिर्भर र सम्मानित जीवनयापन गर्न सक्षम हुने भएकाले यस विषयमा राज्य, समुदाय र परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकाे छ ।
यस्ता बालबालिकाका लागि प्रारम्भिक पहिचान, नियमित उपचार, विशेष शिक्षा र सामाजिक स्वीकार्यता महत्वपूर्ण मानिन्छ ।
झापामा पहिलो पटक यस प्रकारको संस्थागत पहल सुरु भएकाले डाउन सिन्ड्रोम भएका व्यक्ति र उनीहरूका परिवारका लागि यो महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
विश्व स्वास्थ्य तथा विकास सम्बन्धी विभिन्न अध्ययनहरूले पनि विकासात्मक अवस्था सम्बन्धी चुनौतीहरू लिएर जन्मिने बालबालिकाको संख्या उल्लेखनीय रहेको देखाएकाे छ ।




Discussion about this post