बिर्तामोड, १५ फागुन । मेची पेट्रोलियम डिलर्स एशोसिएशनको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
बिर्तामोड स्थित होटल किङ्स वेरीको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केन्द्रीय अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानले सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नसक्दा मूल्यबृद्धिको मार उपभोक्तामा पर्ने गरेको बताए ।
‘उपभोक्ताले थेग्नै नसक्ने गरी मूल्यबृद्धि भइरहेको छ, अध्यक्ष प्रधानले भने,‘ पेट्रोलियम पदार्थबाट कति राजश्व संकलन गर्ने सरकारको पूर्व घोषित कार्यक्रम नहुँदा मूल्यबृद्धिको मार उपभोक्ताले खेप्नु परेको छ ।’
अध्यक्ष प्रधानले ३३ प्रतिशत उपभोक्ताले, ३३ प्रतिशत सरकारले र ३३ प्रतिशत मूल्यबृद्धि स्थिर कोषबाट समायोजन गर्ने हो भने उपभोक्तालाई राहत पुग्ने उनको भनाई छ ।
मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नविन कोइरालाको सभापतित्व रहेको कार्यक्रममा विशेष अतिथि प्रदेश १ का सांसद श्रीप्रसाद मैनाली, एशोसिएशनका केन्द्रीय महासचिव बिश्वबन्धु अर्याल, केन्द्रीय कोषाध्यक्ष चर्तुभुज सरिया, कोशी पेट्रोलियम व्यवसायी संघका अध्यक्ष दुर्गाबहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा एशोसियशनले २०७४ सालको कार्यसमितिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा पूर्व अध्यक्ष नसुह प्रसाई, चन्द्र डाँगी, रमेश सरिया, चर्तुभुज सरिया, बालचन्द गोयल, चिरञ्जीवी अग्रवाल र बेदप्रसाद अग्रवाल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि प्रधानले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमकै अवसरमा एशोसिएशनले पेट्रोलियम व्यवसायीहरुको सुरक्षाको लागि फायर सिलिण्डर र डिप रट वितरण सुरु गरेको छ । एशोसिएशनले संस्थापक अध्यक्ष चन्द्र डाँगीलाई सो सामाग्री हस्तान्तरण गरेको थियो । एशोसिएशनले जिल्लाका सबै पेट्रोल पम्पलाई निःशुल्क रुपमा सो सामाग्री हस्तान्तरण गर्ने जनाएको छ ।
कार्यक्रममा अध्यक्षको प्रतिवेदन कोइरालाले, कोषाध्यक्षको प्रतिवेदन अमित सरिया र महासचिवको प्रतिवेदन बिनोद बस्नेतले प्रस्तुत गरेका थिए । सो प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो । बन्दसत्रले केन्द्रीय समितिको विधानसँग मेलखानेगरी जिल्लाको विधान समेत संशोधन गरिएको छ ।
कार्यक्रममा नेपाल आयल निगम चारआलीका कार्यलय प्रमुख भिम बिश्वकर्मा, राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यसमितिका सदस्य कुमारमणि पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बिनोद बस्नेत र पत्रकार केशव भट्टराईले गरेका थिए ।
Discussion about this post