बिर्तामोड, २१ कात्तिक । झापा–२ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार कुमार भट्टराईले कांग्रेस, एमाले र राप्रपा लगायत सबैको मत पाउने विश्वास व्यक्त गरेका छन् ।
बिर्तामोडमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सबैको प्यारो भएकोले मत पाउने विश्वास व्यक्त गरेका हुन् ।
‘कांग्रेस, राप्रपा, एमाले सबैको मत पाउँछु’, भट्टराईले भने–‘पार्टी भन्दा व्यक्तिगत रुपमा सबैसँग घुलमिल हुँदै आएको छु । सबै व्यवसायमा आबद्धहरु समेतले आफूलाई माया गर्ने छन् । कोभिडको महामारी होस् या व्यापारीको समस्या, सञ्चारक्षेत्रमा होस् वा अरु कुनै क्षेत्रमा सबै क्षेत्रमा मैले काम गरेको छु ।’
२५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुने भट्टराईको दावी छ । ट्युवेल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका भट्टराईले ४ मंसिरको चुनावमा आफ्नो बलियो उपस्थिति रहने छ ।
उम्मेदवार भट्टराईले १६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । पद र शक्तिको दुरुपयोग नगर्ने, विधिको शासनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दवाव नदिने, महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने, कुनैपनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने, सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सँधै खबरदारी गर्ने लगायतका प्रतिवद्धता उनले घोषणा गरेका हुन् ।
Discussion about this post