भद्रपुर, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्ता गठबन्धन गुम्दैमा निराश हुनु नपर्ने बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा वीपी प्रतिष्ठान चन्द्रगढीले शनिबार आयोजना गरेको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले पार्टीका सभापति शेरबहादुर देउवाको कारण कांगे्रसको नेतृत्वको गठबन्धन टुटेको दावी गरेका थिए ।
उनले यसबाट निराश नहुन समेत कार्यकर्ताहरुलाई आग्रह गरे । अबका दिनमा कांग्रेस कार्यकर्ताले अझ जनमुखी भएर काम गर्नुपर्ने बताए ।
“पार्टी सभापतिलाई प्रधानमन्त्री पद प्रचण्डलाई दिनु भनेर आफु र गगन थापाले पटक–पटक भन्दा सभापतिले सुन्नु भएन’–उनको भनाइ थियो ।
वीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै शर्माले अबका दिनमा पार्टी फुटेर हैन जुटेर नयाँ ढंगले अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
काँग्रेस नेता मोहनसिंह कार्कीको अध्यक्षतामा सम्पन्न सभामा अग्रज नेता डिल्ली सिटौला, काँग्रेस केन्द्रीय सदस्यहरु गोमा भट्टराई, शुशिला ढकाल, कांग्रेस झापा सभापति देउमान् थेवे, पूर्व उपसभापति राम कट्टेल, वर्तमान उपसभापति केशवराज पाण्डे, भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, माओवादी केन्द्रका दिनानाथ उप्रेती लगायतले वीपीको मेलमिलाप नीतिको चर्चा गरेका थिए ।
देवेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य भुमादेवी घिमिरेले गरेकी थिइन् । शनिबारै वीपी प्रतिष्ठानले गोविन्द लम्सालको नेतृत्वमा नयाँ कार्य समति समेत गठन गरेको छ ।
Discussion about this post