मेचीनगर, १ चैत । काँकरभिट्टा क्याम्पसमा स्ववियु निर्वाचनको विषयमा वादविवाद हुँदा दुईजना विद्यार्थी पक्राउ परेका छन् ।
आज निर्वाचन समितिले बिना सूचना मनोनयन दर्ताको प्रक्रिया थालेको भन्दै अनेरास्ववियुको समूहले मनोनयन पत्र, क्याम्पसको बोर्ड जलाएको र क्याम्पसको मुल गेट अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
सो क्रममा नेविसंघ, एकीकृत समाजवादी र राप्रपा निकटका विद्यार्थीहरुसँग अनेरास्ववियुका विद्यार्थीहरु वादविवाद बढेपछि प्रहरीले २ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष सन्देश पौडेल र अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला छन् ।
इलाका प्रहरीका कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारतीले क्याम्पसको बोर्ड जलाएको, गेटमा टायर बालेर तोडफोड गर्न थालेपछि २ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताए ।
हाम्रा मागहरु सम्बोधन नगरी बिना सूचना मनोनयन दर्ता पक्रिया सुरु गरेकोले क्याम्पसमा ताला लगाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुका सदेश पौडेलले बताए ।
Discussion about this post