धुलाबारी, ८ चैत । नेपाली कांग्रेसका नेता एवम् साहित्यकार राम कट्टेलको ‘जीवनका मोडहरु’ नामक कविता संग्रहको मंगलबार विमोचन भएको छ ।
कृतिको विमोचन नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले गरेका हुन् । कट्टेलको यो दोस्रो कृति हो ।
विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले भन्दा साहित्यले विश्वका हरेक मानिसलाई जीवन्त र कालजयी बनाएको बताए ।
उनले वीपी कोइराला, मदन भण्डारी र अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओमाबाको उदाहरण दिँदै भने, ‘झापा पनि राजनीतिसँगै साहित्यको उर्वर र सिर्जनशील भूमि हो ।’ उनले कट्टेलको कृति उत्कृष्ट रहेको दाबी समेत गरे ।
कार्यक्रममा कोशी प्रदेश सांसद गोपाल तामाङले भाषा र साहित्यको विकासका लागि आफूले सकेको सहयोग गर्ने बचन दिए ।
साहित्यकार एवम् सञ्चारकर्मी चन्द्र भण्डारीले मेचीनगर साहित्यकारहरुको उर्वरभूमि रहेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकारले पनि साहित्य क्षेत्रको उत्थान र उन्ययनमा बेवास्ता गरेको गुनासो गरे ।
कार्यक्रममा बरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे लगायतले कृतिको चर्चा गरेका थिए ।
कृतिमा ११० वटा कविता प्रकाशित रहेको र अधिकांश कविता राजनीतिक र सामाजिक पृष्ठभूमिमा रचना गरिएको समीक्षक बिनोद खनालले बताए ।
डिल्लीराम स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका कृतिकार कट्टेलले राजनीति र सामाजिक सेवाबाट बचेको समय साहित्यमा लगाउँदै आएको बताए । यसअघि उनले ‘सम्बन्ध’ नामक कृति प्रकाशन गरिसकेका छन् ।
Discussion about this post