मेचीनगर, ८ चैत । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पूर्वीय दर्शनको महत्व बुझ्न सके समाज रुपान्तरण गर्न सकिने बताएका छन् ।
आज पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिले आयोजना गरेको एकहप्ते भागवत पुराणको उद्घाटन गर्दै सभामुख घिमिरेले यस्तो कुरा बताएका हुन् ।
पाउ पाथीभरा मन्दिरको आफ्नै ईतिहास रहेको बताउँदै सभामुख घिमिरेले बिर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका, चीन र कचनकवलसँग जोडिएको क्षेत्र भएकोले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । ‘सत्कर्म गर्नु नै धर्म हो’, घिमिरेले भने–‘सबै जातजातिहरुको एकताले नै प्रकृति जोगाउन सकिने छ ।’
कार्यक्रमका विशिष्ठ अतिथि झापा–१ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफ्नो धर्म मान्छौँ अन्य धर्मलाई प्रेम गर्ने बताए । उनले देशमा परिवर्तनहरु केहि भएका छन् । तर अझै धेरै गर्न बाँकी रहेको बताए ।
उनले आत्महत्याका घटनाहरु बढीरहेको बताए । २०६८ देखि २०७९ साल सम्ममा ७८ प्रतिशत आत्महत्याका घटनाहरु बढेको नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, सांसद शर्मा, कोशी प्रदेश सभा सदस्य एकराज कार्की, संविधान सभा सदस्य प्रेम गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बागमति प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, कोशी प्रदेश सभा सदस्य सबिना बजगाई, अर्जुनधारा नगरपालिका मेयर वलदेव गोम्देन, पाउ पाथीभरा धामका संस्थापक अध्यक्ष हरिचरण बानियाँ लगायत राजनीतिक तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पाउ पाथीभरा धामलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । बुधवारदेखि सुरु भएको महापुराण चैत १६ गतेसम्म सञ्चालन हुनेछ । पुराणको प्रमुख बाचकत्व पण्डित शान्तिराम नेपाल र उपबाचकत्व पण्डित पुण्यप्रसाद रिजालले गर्नेछन् ।
पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष तिलक गिरीको अध्यक्षतामा सम्पन्न पुराण उद्घाटन सत्रको स्वागत उपाध्यक्ष पुष्पराज कार्कीले गरेका थिए ।
Discussion about this post