धुलाबारी, १५ बैशाख । दनुवार जागरण समिति झापा र मेचीनगरको संयुक्त आयोजनामा धुलाबारीमा शनिबार एक दिवसीय प्रथम दनुवार महोत्सव हुँदैछ ।
मेचीनगर–१०, धुलाबारी स्थित पुरानो पशुहाट बजारमा हुने महोत्सवमा कला, सांस्कृतिकका साथै दनुवार समुदायको खाद्यन्नका परिकारहरू प्रदर्शनीमा राखिने जनाएको छ ।
महोत्सवमा खाद्यन्नका परिकारहरू वगिया, घुङ्गी, माछा, लाइको लडडु प्रदर्शनीमा रहने छ ।
दनुवार जागरण समितिका अध्यक्ष श्याम दनुवारले झापाको मेचीनगरमा पहिलो पटक जातिय पहिचान, भेषभुषा, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले एकदिने महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा आफनै समुदायका १ हजार जनाले अवलोकन गर्ने जनाएको छ । तीन लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको महोत्सवमा स्थानीय सरकार, विभिन्न संघ–संस्था र आफ्नै समुदायबाट सहयोग जुटाइने आयोजकको भनाई छ ।
आगामी मंसिरमा हुने दनुवारको राष्ट्रिय पर्व ‘नेमाङ पर्व’को पुर्व तयारीका लागि पनि प्रथम महोत्सव आयोजना गरिएको बताइएको छ ।
महोत्सवमा दनुवार जागरण समितिका केन्द्रीय अध्यक्ष रामकुमार सिंह दनुवारको प्रमुख आतिथ्यता रहने छ ।
महोत्सवमा कलाकार विनोद दनुवार लगायत स्थानीय कलाकारको पनि वेजोड प्रस्तुती रहनेछ ।
सोहि अवसरमा दनुवार समुदायका ज्येष्ठ नागरिकलाई सम्मान र रक्तदान कार्यक्रम पनि हुने दनुवार जागरण समिति झापाकी सल्लाहकार अग्नीमाया मेचेले बताइन् ।




Discussion about this post