मेचीनगर, २० बैशाख । गर्मी बढ्दै जाँदा झापा जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ ।
पूर्व–पश्चिम राजमार्ग तथा कच्ची सडकहरुको दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् ।
झापामा पूर्व–पश्चिम राजमार्ग क्षेत्रको भद्रपुर बजार, दमक बजार, सुरुङ्गा बजार, बिर्तामोड बजार, धुलाबारी बजारको आसपास लगायतका स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो ।
मेचीनगरका भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरू गर्मीयाम भर धेरथोर आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेका भेटिने गरिएको छ ।
यहाँको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खरबुजा प्रतिकेजी ३० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । झापामा गर्मी बढेसँगै शीतलताका लागि खरबुजा किनेर खानेको भिड बढेको छ ।
धुलाबारी चोकस्थित सडक छेउमा खरबुजा बेच्न बसेकी सम्झना साहले यही चैत महिनादेखि खरबुजा बेच्न सुरु गरेको बताइन् । उनले प्रतिकेजी ३० रुपैयाँले खरबुजा बिक्री गरेको बताइन् ।
सडक छेउमा भुईमा खरबुजा राखेर व्यापार गरेकी उनले स्थानीय सरकारलाई दिनको ३० रुपैयाँ कर तिर्ने गरेको बताइन् । साहले गत वर्षजस्तो यसवर्ष खरबुजाको राम्रो व्यापार हुन नसकेको गुनासो गरिन् ।
‘बजारमा आर्थिक मन्दी भएर हामीजस्तो स–साना व्यापारीलाई पनि असर गरेको छ, पोहोर सालझैँ खरबुजाको व्यापार नै छैन्,” उनले भनिन्,–‘यस्तो गर्मीमा त खरबुजा अत्यधिक बिक्री हुनुपर्ने हो तर भइरहेको छैन ।’
दैनिक पाँच सयदेखि २ हजारको खरबुजा बेचिरहेको साहले बताइन् । उनका अनुसार कहिले काहिँ राम्रै व्यापार हुने गरेको छ । बजारमा अहिले मानिसको चहलपहल नै नदेखिएको उनले बताइन् । झापाका विभिन्न क्षेत्रबाट खरबुजा ल्याएर बिक्री गर्ने गरेको उनको भनाई छ ।
Discussion about this post