मेचीनगर, १५ साउन । काँकरभिट्टादेखि सत्र किलोमिटर उत्तर मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर त्रिदिवशिय धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितिको आयोजनामा आउँदो भदौ २ देखि ४ गतेसम्म उक्त कार्यक्रमको आयोजना हुने भएको हो । मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा निर्माण भएको धार्मिक तथा पर्यटकिय हिसावले मेचीनगरको गहनाका रुपमा परिचित छ ।
उक्त स्थानको इतिहास र यसको महत्व दर्साउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्लले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत पहिलो दिन पूजा प्राण प्रतिष्ठान, संस्कृति झल्काउने विभिन्न झाँकीहरु प्रदर्शन गरिनेछ भने भजन किर्तन प्रतियोगिता लगायतका महत्वपूर्ण कार्यक्रम पहिलो दिन आयोजना हुनेछ ।
यसैगरी दोस्रो दिन राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । दोस्रो दिन नै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट सांस्कृतिक कला प्रस्तुत गरिनेछ ।
अन्तिम दिन भने नाग पञ्चमी पर्व परेकाले विहानैदेखि नागको पूजा आरधना हुनेछ । यसैदिन युवा पण्डित प्रशान्त न्यौपानेको मुखारविन्दबाट अध्यात्मिक कथा प्रवचन हुनेछ र भजन किर्तनका साथ कार्यक्रमको समापन गरने अध्यक्ष मल्लले बताए ।
धार्मिक विश्वासका हिसावले लोकप्रिय तथा रमणीय बन्दै गएको यस क्षेत्र मेचीनगर–१ को पूर्वी दक्षिणी क्षेत्रमा पर्दछ । मेची नदीको किनार छेउमा सुन्दर बनेर सजिएको यहाँ सँधै निश्चल पानी बगिरहने ४९ धारा निर्माण भएका छन् भने मनसा नागदेवीको मन्दिर समेत छ ।
नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउँदै ‘संरक्षणमा जुट्नुपर्छ’ भन्ने भावना जागृत गराउँन र पर्यटकिय स्थललाई विश्वमा चिनाउन आयोजना गरिएको यस विशेष कार्यक्रमले समग्र मेचीनगरकै नाम उच्च बनाउने वडाका जनप्रतिनिधिहरुले बताएका छन् ।
Discussion about this post