मेचीनगर, १३ भदौ । मेचीनगरमा लामो समयदेखि मानव र हात्तीबीचको द्वन्द्व न्यूनिकरणका लागि गरिएका अनेकन प्रयासहरु र चरालाई पनि संरक्षण गर्न सके पर्यावरण जोगाउन सकिने उद्देश्यका साथ विद्यार्थी र विभिन्न समुहमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
आज मेचीनगर–४ स्थित सरस्वती मावि र दिपेन्द्र आधारभुत विद्यालयमा वडा कार्यालयको आयोजनामा गरिएको कार्यक्रममा हात्ती संरक्षण, मानव हात्ती द्वन्द्व न्यूनिकरण तथा मानव हात्ती सह–अस्तित्वका लागि अबलम्वन गर्न सकिने उपायहरु र चरालाई पनि कसरी संरक्षण गर्न सकिन्छ भन्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वर्दियाका पूर्व चिफ वार्डन तथा उज्यालो नेपालका प्रमुख रमेश थापाले विद्यार्थीहरुलाई हात्तीको आहारविहार, त्यसले गर्न सक्ने मानविय र वाली नालीको क्षति, त्यसका उपाय, समस्या र समाधानका विषयमा तयार पारेको सचेतना मुलक डकुमेन्ट्रीलाई प्रोजेक्टर मार्फत प्रस्तुत गरेका थिए ।
त्यसैगरी विद्यार्थीहरुलाई मेचीनगरमा पाइने विभिन्न प्रजातिका चरा र त्यसको संरक्षणका विषयमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देबेन्द्रकुमार खरेलले जानकारी गराएका थिए ।
कार्यक्रममा मेचीनगर–७ को मेची चरा तथा वन्यजन्तु संरक्षण समाज, वर्दियाको उज्यालो नेपाल, ग्रिन जेनेरेशन नेपाल झापा र फिस एण्ड वाइल्ड लाइफ सर्भिस अमेरिकाको सहकार्य रहेको थियो ।
मेचीनगर–४ स्थित सरस्वती माविका प्रधानाध्यापक भिमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्वास विश्वकर्मा र देवेन्द्रकुमार खरेलले संयुक्त रुपमा गरेका थिए ।
Discussion about this post