मेचीनगर, १६ असोज । बेलायत भ्रमणमा रहेका मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले भगिनी सम्बन्धले दुई देशबीच थप मजवुत बनाएको बताएका छन् ।
सोमबार बेलायतको केन्ट काउन्टिको प्रदेश सभामा सम्बोधन गर्दै उनले यो भगिनी सम्बन्धले यी दुई पालिका मात्र नभएर नेपाल र बेलायतका नागरिकहरुबीच परस्पर एकताको सुत्रमा बाध्ने विश्वास समेत व्यक्त गरेका हुन् ।
केन्ट काउन्टिको प्रदेशसभामा सम्बोधन गर्ने बुढाथोकी पहिलो नेपाली मेयर भएको प्रदेशसभा अधिकारीहरूको दावी छ ।
मेयर बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीसहितको नेपाली प्रतिनिधि मण्डललाई सम्बोधनअघि केन्ट काउन्टिका प्रदेश प्रमुखले स्वागतसहित सम्मान गरेका थिए ।
मेयर बुढाथोकीले प्रदेश सभामा यो अवसरका लागि प्रदेश प्रमुख, प्रदेशसभा सदस्यसहित सिंगो फोक्सटन टाउन काउन्सिल, मेचीनगर नगरपालिका र फोस्सटन टाउन काउन्सिल (नगरपालिका) बीच भगिनी सम्बन्ध कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पूर्व काउन्सिलर धनकिरण गुरूङ लगायत बेलायतका नागरिकहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ७ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बेलायतको फोक्सटन टाउन काउन्सिल र द गोर्खा मेमोरियल फाउण्डेशन बेलायतको ओैपचारिक निमन्त्रणामा बेलायत पुगेको छ । यसअघि प्रतिनिधि मण्डललाई बेलायतको अन्तर्राष्ट्रिय विमानस्थल हिथ्रो टर्मिनल फोरमा स्वागत गरेको थियो ।
फोक्सटन टाउन काउन्सिल, डिष्ट्रिक काउन्सिल र केन्ट काउन्टि काउन्सिल (तीनवटा स्थानीय सरकारको) प्रतिनिधित्व गर्दैँ बेलायत केन्ट काउन्टि काउन्सिलर प्रमुख (मेयर) जेकी मिड, फोक्सन टाउनका उपमेयर, पूर्व काउन्सिलर गुरूङ, फोक्सटन नेप्लिज कम्यूनिटीका अध्यक्ष झपिन्द्र थापा, झापा सम्पर्क समाज युकेका प्रतिनिधिहरू विवेक मेचे, सुरज मेचे, रेशु फ्याक, सूर्य गुरूङ, भक्तिकुमार आङदम्वे लगायतले मेचीनगरको टोलीलाई स्वागत गरेका थिए ।
मेचीनगरको टोली यही असोज २१ गते अर्थात नोभेम्वर ८ तारिख नेपाल फर्किने योजना रहेको छ । सो अवधिमा टोलीले यहाँको विभिन्न कार्यक्रममा सहभागी हुने पूर्व काउन्सिलर एवम् द गोर्खा मेमोरियल फाउन्डेशन युकेका संस्थापक अध्यक्ष धनकिरण गुरूङले जानकारी दिए ।
Discussion about this post